बुधबार, भदौ ३, २०८३

ठूलो वर्षाले जमिन गलेका कारण पहिरोको जोखिम कायमै

 |  बुधबार, असोज १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज १६, २०८१

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ गतेसम्म बागमती र कोशीमा भारी वर्षाको सम्भावना देखिएको यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ।

बुधबार सूचना जारी गर्दै प्राधिकरणले असोज १० गतेदेखि १२ गतेसम्म परेको पानीले जमिन गलेकाले पहिराको जोखिम पनि औंल्याएको छ।

‘जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज १६ गतेदेखि दिउँसो बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा एवं भोलि राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान छ। यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना छ। असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ,’ प्राधिकरणले सूचनामा भनेको छ।

यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न र ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्न प्राधिकरणले आग्रह गरेको छ।

‘नदी किनाराका वस्तीमा एक्काति बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुहुन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुनु हुन सबैमा विनम्र अनुरोध छ,’ सूचनामा भनिएको छ।

जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका बासिन्दाहरूले यहीअनुसार सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित: Oct 02, 2024| 11:05 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्