काठमाडौं- केही दिनअघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।
यसैगरी एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित छन्।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।