जनकपुरधाम–उमेरले उनी ३३/३४ वर्ष कटिसके । युवा अवस्थाको स्वर्णीम घडीमा रहेका उनलाई चाहे अनुसारको जागिर र अवसर खोज्न सार्है गार्हो पनि छैन् । तर आफूले प्राप्त गर्न सक्ने हरेक अवसरलाई पछि छोड्दै उनी ‘फोहोर’ सँग साइनो गाँस्न रुचाए । अहिले उनी निरन्तर आफ्नो टोल, छरछिमेकका साथै जनकपुरलाई सफा बनाउने अभियानमा जुटेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने दीपक ठाकुर जनकपुरलाई सफा बनाउने अभियानमा निरन्तर खटिरहेका छन् । दीपकलाई साथ दिँदैछन् उनका अन्य साथीहरुले पनि । लामो समयदेखि स्वस्फूर्त रुपमा सहर सफा बनाउने अभियनामा लागेका दीपकसहित उनका साथीहरु अहिले स्वच्छता अभियानको रुपमा परिचित छन्, जनकपुरमा । सरसफाइसम्बन्धी अभियानमा दीपकलाई सघाउँदै आएका छन् जिल्ला वनअधिकृत गणेश रायका साथै घनश्याम मिश्र, दीपेन्द्र सिंह, शम्भु मिश्र, प्रवीण शर्माजस्ता दर्जनौं यहाँका स्थानीयहरुले ।
धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको सरसफाइबारे एक पर्यटकले गरेको नकारात्मक टिप्पणीले दीपकको चित्त दुखेको थियो । र, जनकपुर सफा राख्नुपर्छ ती पर्यटकको नकारात्मक टिप्पणीले हौसायो, दीपकलाई । त्यसपछि उनी निरन्तर सफाइ अभियानमा जुटेका छन्, यहाँ ।
यसैगरी दक्षिण भारतको विजयबाडा सहरमा समेत बसेका दीपकलाई जनकपुरलाई पनि त्यहाँ जस्तै सफा राख्नुपर्ने रहर थियो । विजयबाडाबाट आफ्नो घर जनकपुर फर्केका उनलाई गंगासागर पोखरीको सफाइ अभियानको सफलताले पनि उर्जा थप्न मद्त गर्यो ।
सरसफाइको अभियान उनले सुरु गरे आफू बस्ने जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगर टोलबाट । सुरुमा अव्यवस्थित र जताततै फोहोरको डंगुर देखिने दशरथनगर अहिले जनकपुरको नमूना टोल बनेको छ । दीपकले टोलकै अन्य सदस्यहरुको साथ लिएर दशरथनगरलाई सफा बनाउन सफल भएका छन् ।
उनी भन्छन्,‘सरसफाइको अभियान मैले आफ्नै टोलबाट सुरु गरेँ । टोल सुधार समिति गठन गरेर हामीले सरसफाइ अभियानलाई अगाडी बढाएका छौं ।’
सरसफाइ अभियान सुरु गर्दा कम चुनौतीको सामना गर्नु परेन, उनलाई । ‘टोलको हरेक घर पुग्नु पर्यो । घरघर पुगेर फाहोरबाट हुन सक्ने हानीबारे सबैलाई जागरुक बनायौं,’ दीपक भन्छन्,‘तर अब धेरै समस्या छैन, सबैको सहयोग पाएका छौं ।’
टोलका घरबाट निस्केका फोहोर व्यवस्थान गर्न टोलवासीकै सहयोगमा टोलसुधार समिति बनाएर सरसफाइप्रति सचेतना जगाउने काम गरेको उनी बताउँछन् । यसैगरी टोलवासीकै आर्थिक सहयोगले टोल सुधार समितिले दुईवटा रिक्सा समेत किनेका छन् । र, घरघर पुगेर रिक्सामा फोहोर उठाउने दुईजना श्रमिकलाई मासिक २४ हजार पारिश्रमिकसमेत दिने गरेको दीपकले बताए।
टोलटोल पुगेर उपमहानगरपालिकाले फोहोर संकलन गर्नुपरे पनि अहिलेसम्म यसको सुरुवातसमेत हुन नसकेको उनको गुनासो छ । तर, सरसफाइको लागि उपमहानगरपालिकामै निर्भर हुनु नपर्ने उनको ठम्मयाई छ । हेरक नगरवासीले जनकपुरलाई सफा बनाउन आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने दीपक बताउँछन् ।
आफ्नो टोलबाट सुरु गरेको सफाइ अभियानलाई दीपक र उनका साथीहरुले जनकपुरभर व्यापकता दिएका छन् । दीकपसहित उनका साथीहरु हरेक शनिबार फोहोर टिप्न फाहोर थुप्रिएका ठाउँमा पुग्ने गरेका छन् ।
सँडेगलेका फोहोर देखेर अरुले नाक बिचकाउने गरेपनि दीपक फाहोरको डंगुरभित्रै पसेर हातले उठाउने गरेको व्यवहारले सबैलाई चकित बनाएको छ । ‘बिमारी फैलाउने जडो फाहोर हटाउन मलाई थोरैपनि हिचक हुँदैन्,’ दीपक भन्छन्,‘अब त फोहोरसँग रमाउने बानी नै भइसक्यो ।’
फोहोर सहरको उपमा पाएको जनकपुरलाई स्वच्छ र सफा बनाउने ठुलो रहर बोकेका छन्, शिक्षण पेशामा समेत लागेका दीपकले । घर, पसल र होटलजस्ता स्थानबाट निस्कने फोहोर व्यवस्थापन गर्न ‘ल्याण्डफिल साइट’ बनिदिएको भए जनकपुरले पाउँदै आएको फोहोर सहरको उपमापनि हटेर जाने उनको विश्वास छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था युएनडीपीले स्वच्छता अभियानमा निरन्तर सक्रिय रहेको दीपकलाई सम्मानितसमेत गरिसकेको छ ।
दीपकजस्तै सफाइ अभियानमा स्वस्फूर्तरुपमा जुटेका जनकपुरका युवाहरुले उपमहानगरपालिका कार्यालयलाई नगर र नगरवासीप्रतिको आफ्नो दायित्व निर्वाह गर्न घचकाउने कामसमेत गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४