काठमाडौं- आज पुस १४ गते राजा वीरेन्द्र वीरविक्रम शाहको जन्मदिन । राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र आएपनि स्वर्गीय राजा वीरेन्द्रप्रतिको श्रद्धा र सम्झनामा कमि आएको छैन। राजा वीरेन्द्र अहिले पनि आम नेपाली जनताको मनमा उत्तिकै माननीय र पूजनीय छन।
उदार, जनप्रेमी राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश जेठ १९ मा भएपछि नेपालमा राजतन्त्र पतनको शिलान्यास त्यहीबाट भएको थियो। वि सं. २००२ साल पुस १४ गते जन्मिएका तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर शनिबार मनाइएको छ ।
राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने, जनताको मत बुझ्न जनमत संग्रह गर्ने, ०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना गर्न महत्वपूर्ण कदम चालेका थिए। ०५८ जेठ १९ को घटना हुनुअघि तत्कालीन विद्रोही माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन सार्थक पहल गरेका थिए ।
स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पुर्याएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले राजा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको बताए ।
वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्व राजाका प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन, संवाद सचिव डा फणीराज पाठकलगायत धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र समाजसेवीको कार्यक्रममा उपस्थिति थियो ।
वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो ।
यो पनि पढ्नुहोस्
जब ज्ञानेन्द्रले वीरेन्द्रको शरीरमा वाइन फालिदिए