आइतबार, असार ८, २०८२

हेडफोनमा अल्झिएको ग्योजेट पुस्ता 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं - भक्तपुर चुनदेवीका किरण किलम्बु पेसाले इलेक्ट्रिसियन हुन्। व्यस्त दैनिकीमा हेडफोन उनको नजिकको साथी हो । घर, अफिस, सडक, कलेज जहाँ हुँदा उनको साथमा  हेडफोन छुट्दैन, प्रायः उनको कानमै झुन्डिएको हुन्छ ।

बाहिरको दुनियाँसँग उनलाई खासै मतलब छैन। आफ्नै ताल र सुरमा उनी झुमिरहेकी हुन्छिन् । उनका लागि कान नै रमाइलो संसार बनिदिएको छ । 

कहिलेकाँही किरणलाई पनि लाग्छ, हेडफोनले मलाई एकलकाँटे बनाएको छ । तर त्यसबाट उम्किन उनी सक्दिनन् । उनी भन्छिन्, हेडफोन लगाएर आफ्नै दुनियाँमा रमाउनुको मजा बेग्लै छ।
किरण ग्याजेट पुस्ताको एउटा प्रतिनिधि मात्र हुन् । पछिल्लो पुस्तामाझ हेडफोन एउटा कल्चर नै भएको छ । हेडफोनबिनाको जीवन यो पुस्ताका लागि अधुरो हुन थालेको छ । 

हेडफोन एडिक्शनले बाहिरको दुनियाँलाई उनीहरु भुल्दैछन्। हेडफोनमा रमाउँदै गर्दा उनीहरु सामाजिक सम्बन्ध, शिष्टाचारलाई समेत उपेक्षा गर्न थालेका छन् । हेडफोनमा अल्झिएको अहिलेको ग्याजेट पुस्ता रियल वल्र्ड (वास्तविक दुनियाँ) सँग अपडेट छैन।

अनामनगरकी सुनिता शर्मालाई स्कुटर चलाउँदा पनि गीत सुन्नैपर्छ । उनी भन्छिन्, ‘खुसीको क्षण होस्, दुःखको क्षण, मेरो भावना साटासाट बनेको छ, एयर फोन । उनी हेड फोनलाई ‘लोन्ली’ मुडको साथी भन्न रुचाउँछिन् ।

प्राविधिक उपकरणसँग अपडेट हुने र प्रयोग गर्ने जाँगर युवामै हुन्छ । त्यसैले अधिकांश युवा प्रविधिसँग नजिक हुन्छन् । ग्याजेटमार्फत नै गीतसंगीत सुन्ने, फिल्म हेर्ने र गेम खेल्ने गरिन्छ । अचेल अधिकांशको कानमा घरमा बस्दा, पैदल हिँड्दा होस् वा सार्वजनिक गाडीमा यात्रा गर्दा होस्, कानमा हेड फोन लगाउने बानी छ। कलेज पढ्ने केटाकेटीका लागि त यो फेशन नै भइसकेको छ ।

मानिसलाई भगवान्ले दुई कान र एक मुख दिनुको कारण हो धेरै सुन्नु तर थोरै बोल्नु । तर हाम्रो कान सुन्नका लागि मात्र प्रयोग भइरहेको छ, त्यो पनि गीतसंगीत र मनोरञ्जनका सामग्रीमात्र । बोल्ने मुख कम प्रयोग हुन थालेको छ । घरमा आएका पाहुनाका सत्कार गर्नु, उनीहरूसँग बोलचाल गर्नु, कुशलमंगल सोध्नु जस्ता शिष्टाचारका व्यवहार कम हुन थालेका छन् एयर फोन प्रयोगले गर्दा । 

कानमा एयरफोन/हेड फोन लगाउँदा व्यक्तिले बाहिरका कुरा केही नसुन्ने भएकाले उसलाई संवादविहीन बनाइदिन्छ । बाहिरी वातावरणबाट अलग बनाइदिने भएकाले कान नै संसार भएको छ एयर फोन र हेड फोन प्रयोगकर्ताका लागि । 

नगरकोटकी राममाया लामा बिहानैदेखि होटलमा व्यस्त हुन्छिन् । उनका एकमात्र सन्तान राजन लामा १६ वर्षका भए । राजन आमालाई काममा सघाउँदैनन् । उनी कहिले दालभात  त कहिले होटलमा पाकेका पकौडा, सेल, चना खाएर स्कुल जान्छन् । उनको कानमा जतिखेर पनि एयर फोन झुन्डिएको हुन्छ । प्रायः उनी कसैसित बोल्न चाहँदैनन् । काम परेका बेला पनि धेरै पटक बोलाएपछि मात्र बोल्छन् । छोराको यस्तो बानीले राममाया आजित छिन् ।

हेडफोनका कारण दुर्घटना 

पछिल्लो अध्ययनअनुसार सडक दुर्घटनाको एउटा कारण हेडफोन पनि हो । सवारी चालक र पैदल यात्री दुवै कानको संगीतमा मस्त हुँदा सडकको गति र अवस्थिति बिर्सने र त्यसले दुर्घटना निम्त्याउने गरेको सरोकारवाला बताउँछन् । 

कानमा एयर फोन/हेड फोन लगाउँदा सवारीचालक र पैदल यात्री दुवै दुर्घटनाको जोखिममा रहने ट्राफिक प्रहरी बताउँछन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले बाटो काट्दा, पैदल हिँड्दा र सवारीसाधन चलाउँदा हेड फोन प्रयोग गरेका ट्राफिक व्यवस्थामा असर गर्ने बताए । ट्राफिक महाशाखाको तथ्यांकअनुसार विगत ५ वर्षमा सडक दुर्घटनामा एक सय ५४ पैदल यात्रुको मृत्यु भएको छ । तीमध्ये केही यात्रीले हेड फोन र मोबाइल प्रयोग गरेको पाइएको उनको भनाइ छ । 

सवारीचालकलाई एयरफोन प्रयोगमा रोक लगाउन ट्राफिक प्रहरीका लागि चुनौती रहेको पन्त बताउँछन् । पैदल यात्रुले पनि सजग हुनुपर्ने उनको सुझाव छ । समाजशास्त्री भानुभक्त आचार्यको बुझाइमा एयर फोन र हेन फोनमा झुन्डिने लत सामाजिक बेथितिको एउटा उदाहरण हो । उनले भने, ‘प्रविधिले मानिसलाई सजिलो मात्र बनाएको छैन, संकीर्ण पनि बनाएको छ ।’

हेडफोन फेसन

अचेल चर्को आवाजमा संगीत सुन्दै हिँड्ने फेसनजस्तै बनेको छ । यसमा मनोवैज्ञानिक पक्ष पनि जोडिएको छ। हेड फोनमा व्यस्त हुनेमा १६ देखि २२ वर्ष उमेरसम्मका युवा बढी देखिन्छन् । कानमा हेड फोन झ्न्ड्याउने युवक युवतीलाई आफू ठूलो र प्रतिष्ठित महसुस हुने मनोविद् गोपाल ढकालले बताउँछन् । उनका अनुसार साथीहरूको देखासिकीमा प्रयोग गर्ने पनि धेरै छन् । 

हेड फोन प्रयोग  गर्नेमा महिलाभन्दा पुरुष बढी छन् । इलेक्ट्रोनिक ग्याजेटमा महिलाभन्दा बढी अभिरुचि राख्ने भएकाले प्रयोग गर्नेमा पुरुष धेरै रहेको ताम्राकार कम्प्लेसकका हेड फोन व्यापारी रूपेश चौधरी बताउँछन् । महिला घरायसी काममा व्यस्त हुनुपर्ने भएकाले उनीहरू ग्याजेटमा कम आकर्षित हुने बुझाइ समाजशास्त्री भानुभक्त आचार्यको छ । 

कति मूल्यमा पाइन्छ

बजारमा अहिले एक सय रुपैयाँदैखि ६० हजार रुपैयाँसम्म पर्ने हेड फोन पाइन्छ । नेपाली बजारमा ‘बिट्छ’ ब्रान्डको हेड फोनको माग बढी रहेको हेड फोन व्यापारी चौधरी बताउँछन् । टिकाउ र सस्तो पनि भएकाले यो ब्रान्डको हेड फोन धेरैको रोजाइमा रहेको उनले बताए । 

पहिलोपटक सन् १९१० मा नेथ्यानिकल बाल्डविनले ‘इस्टेरियोटाइप हेडफोन’ अन्वेषण गरेका थिए । उक्त हेड फोन सुरुमा अमेरिकी सेनाले प्रयोग गर्थे । केही वर्षपछि हेड फोन सर्वसाधारणले पनि प्रयोग गर्न थालेको इतिहास छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।