सांकेतिक तस्बिर
काठमाडौं- काठमाडौंको गोकर्णेश्वरमा रहेको भगवती उलन धागो कारखानामा शनिबार आगलागी भएको छ।
गोकर्णेश्वर नगरपालिका-४ उत्तरबाहिनीमा रहेको कारखानामा बिहान ४ बजे आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्। उनका अनुसार कारखानामा सर्ट सर्किट भएर आगो लागेको हो।
झण्डै साढे ३ घण्टापछि आगो पूर्णरूपमा नियन्त्रणमा आएको उनले बताए। आगो निभाउन नेपाली सेनाका तीनवटा, काठमाडौं महानगरपालिकाको दुई, ललितपुर महानगर र ठिमी नगरपालिकाको एक-एक वटा गरी सात वटा दमकल प्रयोग गरिएको थियो।
त्यसका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा पनि आगो निभाउन खटिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४