नेपाली गीत र कविताका सत्तिसाल दिनेश अधिकारीको जन्म २०१६ मंसिर २२ गते माता शारदादेवी अधिकारी र पिता नन्दनहरि अधिकारी ‘ओखलढुंगे’ को काखबाट काठमाडौंको पुरानो बानेश्वरमा भएको हो। अधिकारीका पिता नन्दनहरि पनि साहित्यकार हुन्। उनी २००४ सालदेखि गोरखापत्रमा नन्दनहरी उपाध्याय 'ओखलढुंगे'को नामले पाठकपत्र लेख्थे। उनका पिताका ‘बूढो मर्यो कुरो सर्यो’ र ‘सम्पादकलाई चिठी’ कृति प्रकाशित छन्। साहित्यिक परिवेश भएको परिवारमा जन्मेकै कारण अधिकारी पनि सानैदेखि साहित्यप्रति आकर्षित भए। उनले दस वर्षको उमेरमा कविता लेखेका थिए।
अधिकारीको बाल्यकाल रमाइलो छ। उनी कहिले काठमाडौं पुग्थे कहिले सर्लाहीको हरिवन। उनी जन्मेको चार–पाँच वर्षपछि उनका पिताले सर्लाहीको हरिवनमा घर-जग्गा किने। अधिकारीकी आमालाई काठमाडौंभन्दा हरिवन मन पर्यो र उनी आमासँगै हरिवनमा बसे। उनले ५/६ कक्षासम्म सर्लाहीमा पढे भने ८–९ कक्षा नक्सालको नन्दीरात्रि स्कुलमा पढे। अधिकारीले एसएलसी भने हरिवनको चतुरभूजेश्वर स्कुलबाट पास गरे। यसरी उनको बाल्यकाल कहिले काठमाडौं कहिले हरिवन भएर बित्यो। २०३२ सालपछि उनले काठमाडौंमै रहेर अध्ययन गरे। तर उनलाई बालापन बितेको हरिवन सबैभन्दा प्यारो लाग्छ।
अधिकारी मिजासिलो स्वभावका छन्। उनलाई अग्रज पुस्तादेखि अनुज पुस्तासम्मले उत्तिकै माया र सम्मान गर्छन्। अधिकारीका रचना सबैको मुटुमा बस्न सक्ने खालका हुन्छन्। तिनै रचनाका कारण अधिकारी पनि सबैको मनमा बस्न सफल छन्। अधिकारी लेखनलाई पेसा नभई सोखका रुपमा लिन्छन्। उनी मन लागेका बेला मात्र लेख्छन्। मनैदेखि लेखिएको रचनाले पाठकको मन छुने उनको ध्येय हुन्छ। निःस्वार्थ भावनाले इमानदादरीपूर्वक लेखिएको अधिकारीको रचना सरल हुन्छ र सबैको मन छुन्छ। यहाँ कवि अधिकारीको साहित्यिक र प्रशासनिक जीवनका आयामहरू खोतल्ने प्रयास गरिएको छ।
पहिले पुरस्कार पाउन कविता लेखिन्थ्यो
अधिकारीमा कविताप्रतिको अनुराग सानैदेखि थियो। उनी दश बाह्र वर्षका हुँदाहुन। चार कक्षाको परीक्षा दिएर विद्यालयमा हुने अतिरिक्त क्रियाकलापअन्तर्गत कविता प्रतियोगितामा भाग लिए। आफूले प्रतियोगितामा गीति लयमा कविता प्रस्तुत गरेको उनी अहिले पनि सम्झन्छन्। त्यतिबेला अतिरिक्त क्रियाकलापको नतिजा पनि वार्षिक परीक्षासँगै सुनाइँदो रहेछ। त्यो उनी कविता प्रतियोगितामा प्रथम भएका थिए। त्यसपछि उनले १६ पानाको कापी र एउटा सिसाकलम पुरस्कार पाएका थिए।

अधिकारीले त्यतिखेर कवि नै बन्छु भनेर कविता लेखेका होइनन्। सानोमा पुरस्कार पाइन्छ भन्ने आसले कविता लेखेका अधिकारीले १० कक्षामा पढ्दै गर्दा चतुरभूजेश्वर हाइस्कुलले निकालेको आफूले समेत सम्पादन गरेकाे ‘जीवन ज्योति’ नामक समसामयिक पत्रिकामा रचना प्रकाशित गरे। त्यतिबेला उनी नाम छाप्न पाइन्छ भनेर कविता लेख्थे। २०३६ सालको सडक कविता क्रान्तिपछि भने अधिकारीले कवितालाई गम्भीर रुपमा दिए। अधिकारी स्वयम् पनि उक्त क्रान्तिमा सहभागी थिए। पछि उनको कवितामा गति बढ्यो। साथीभाइले राम्रो भन्दै उनका कविताको तारिफ गर्न थाले। २० वर्षको उमेरमा उनमा कविताप्रतिको चेतना जागृत भइसकेको थियो। २०३७ वैशाख १ गते उनको पहिलो कविता संग्रह ‘अन्तरका छिटाहरू’ छापियो। उनको पहिलो कविता सङ्ग्रहमा भवानी घिमिरे र बासु शशिले शुभकामना लेखेका छन्।
अधिकारीले पहिलाे पल्ट कविता लेख्दा कवि नै बन्छु भनेर कविता लेखेका होइनन्। पुरस्कार पाइने आसले कविता लेखेका अधिकारीले दस कक्षामा पढ्दै गर्दा चतुरभूजेश्वर हाइस्कुलबाट आफू समेतले सम्पादन गरेकाे ‘जीवन ज्योति’ नामक समसामयिक पत्रिकामा रचना प्रकाशित गरे।
२०३६ सालअगाडि नेपाली कविता जनजीवनसँग अलि टाढा रहेकाे अनूभुति गरिदै थियाे। कवितामा अमूर्तता बढ्दै थियाे। पत्रिकाहरूले पनि हामी कविता छाप्दैनौं भन्दै सूचना निकाल्ने गरेको सन्दर्भमा सडक कविता क्रान्ति चल्यो। त्यो पनि कविहरूको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा। त्यो आन्दोलनपछि दिनेश अधिकारीलगायतका कविहरूले सरल कविता लेख्न थाले। उनीहरूले सुरु गरेको सरल कविता लेखनी पुनः जनजीवनसँग जोडिन थाल्यो। त्यसले कवितालाई स्थापित हुन सहज बनायो। अधिकारीलगायतका युवाले युवासाहित्य समाज भन्ने समूह बनाएका थिए। समूहका सदस्य रत्नपार्कमा हरेक शनिबार जम्मा हुन्थे। एकजना अग्रज कविलाई बोलाउँथे। कविता सुनाउँथे र आफूहरूका कवितामा टिप्पणी गर्न लगाउँथे। २०३६ सामा जनमत सङ्ग्रह घोषणा भएपछि पत्रपत्रिका निस्किने क्रम बढ्यो। पत्रपत्रिकालाई पनि सामग्री चाहिने र कविलाई पनि प्रकाशन गर्ने ठाउँ चाहिरहेको समयमा कविता छापिन थाले। अधिकारी कविता पनि छापिन थाले । उनी स्थापित हुँदै गए।
छाप्दैनौं भनेको पुस्तकलाई साझा पुरस्कार दिए
२०४२ सालतिर अधिकारी कविता लिएर छाप्न साझा प्रकाशन पुगे। साझाले उनको पालो नआएको भन्दै सुरुमा पाण्डुलिपी लिनै मानेन। सामान्य भए नछाप्नुहोला, मूल्यांकनका लागि पठाइदिन्छौं भन्ने कुरा भएछ र साझाका तत्कालिन महाप्रवन्धक कृष्णसिंह प्रधान ज्युले अधिकारीको पुस्तक मूल्यांकनका लागि पठाइदिएछन्। उनको पुस्तकको राम्रो मूल्यांकन भएछ र उनको धर्तिकाे गीत शिर्षकमा उनकाे कविता सङ्ग्रह २०४४ सालमा साझा प्रकाशनबाट छापिए छ। २०४५ सालमा प्रज्ञा प्रतिष्ठानबाट अर्को कविता संग्रह ‘आदिम आवाज’ प्रकाशित भयो।
उनको गीति रचना भने २०३२ सालदेखि छापिन सुरु भएको हो। रत्नश्री द्वैमासिक पत्रिकाको २०३२ सालको चैत अंकमा ‘इच्छा’ शीर्षकको गीति छापिएको छ । २०३९ सालदेखि अधिकारीले लेखेका गीत रेकर्ड हुन थाले। त्यो बेला गीतका पुस्तक थोरै छापिन्थे। २०४८ सालमा अधिकारीले ‘अविराम यात्रा’ गीति संग्रह प्रकाशित गरे। २०५१ सालमा ‘इन्द्रजात्रा’ शीर्षकको काव्य सङ्ग्रह प्रकाशित गरे।

सङ्ग्रह साझा प्रकाशनले प्रकाशित गरेको हो। तर सुरुका दिनमा साझाले त्यो संग्रहलाई जस्ताको त्यस्तै छाप्न इन्कार गरेको थियो। त्यो पुस्तक इन्द्रसँग सम्बन्धित थियो। मुलुकमा राजतन्त्र थियो। त्यो कुरा जोडिएको हुनाले साझालाई प्रकाशित गर्न अप्ठ्यारो भएको थियो। संवैधानिक राजतन्त्रको व्यवस्था आएपछि अधिकारीले साझाका पदाधिकारीहरूसँग अब तपाईंहरूको संवेदनशील ठाउँ पहिलाको जति संवेदनशील रहेन होला भनेछन्। त्यसपछि भने पहिले इन्कार गरेको पुस्तक साझाले प्रकाशन गर्यो। त्यही काव्यले पछि साझा पुरस्कार पायो।
००
अधिकारीले २०५४ सालमा ‘आफ्नै मन आफ्नै आगन’ शीर्षकको गीति सङ्ग्रह निकाले। २०५६ सालमा अधिकारीको ‘अतिरिक्त अभिलेख’ शीर्षकको कविता सङ्ग्रह बजारमा आयो। जसले मदन पुरस्कार नै जित्यो। २०५८ सालमा बालबालिकालाई उपयुक्त हुने गरी ‘जंगलको कथा जंगलको व्यथा’ शीर्षकमा नाटक लेखे। त्यसपछि लामो समयको ग्यापमा २०६३ सालमा साझाले अधिकारीको गीति सङ्ग्रह ‘मन मोडहरू’ निकाल्यो। २०६७ सालामा ‘सिमान्त सपना’ कविता सङ्ग्रह निस्कियो।
अधिकारीका कवितामाथि अंग्रेजी र हिन्दी अनुवाद
२००९ मा अधिकारीका कविताको अंग्रेजी अनुवाद भएको छ। ‘मोड अफ लाइफ’ शीर्षक दिएर साहित्य क्षेत्रमा रविन शर्मा भनेर चिनिने राजेन्द्र शर्माले गरे। २०१५ मा अधिकारीको मनमा नेपालीहरूले हिन्दी साहित्य प्रशस्त पढ्ने गरे पनि नेपाली साहित्य हिन्दीमा नभएको महसुस गरे र हिन्दीमा आफ्ना केही रचना अनुवाद गराए।
उनका रचनाको गंगाप्रसाद अकेलाले हिन्दीमा अनुवाद गरे भने भारतको राजकमल प्रकाशनले बजारमा ल्यायो। प्रकाशनले भारतका विशिष्ट कविहरूलाई प्रदान गर्ने सुविधा दिँदै अधिकारीको कविता सङ्ग्रह ‘संवेदनाको स्वर’ प्रकाशित गर्यो। अधिकारीलगायत अशेष मल्ल, गगन विरही र विष्णुविभु घिमिरेले ‘एउटा बस्तीको कथा’ शीर्षकमा लामो कविता लेखे। कुन भाग कसले लेख्यो भन्ने पनि उनीहरूलाई थाहा छैन। २०७३ सालमा उनीहरूले त्यसलाई पुस्तककै रुपमा प्रकाशित गरे। अधिकारीले १३० ऐतिहासिक फोटो प्रयोग गरेर २०७४ सालमा ‘तस्बिरको कथा’ पुस्तक प्रकाशन गरेका छन्।
म कपाल काट्न बसौंला, फेरि तपाईं कपाल काटेर हिँड्नुहोला भनेर कपाल नकाटी बाहिर पर्खेर बसेको भनेछन् । त्यसपछि दुवै जनाले सँगै बसेर चिया र मिठाई खाए। अधिकारीको मुटुमा त्यो माया गहिरो बनेर बसेको छ।
अधिकारी पहिले विभिन्न प्रतियोगितामा पनि सहभागी हुन्थे। उनले २०३८ सालमा राष्ट्रिय कविता महोत्सवमा भाग लिए र दोस्रो भए। २०४० सालमा १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी प्रथम भए। २०३९ सालमा पहिलो ब्यथित काव्य पुरस्कार पाए। त्यसले पनि उनको साहित्यिक यात्रामा ऊर्जा थप्यो। अधिकारी नाटक पनि खेल्थे। नाटक खेल्ने स्थानको अभावमा सर्वनामको जन्म भएको हो। सर्वनामको जन्मदातामध्येका अधिकारी पनि एक हुन्।
उनले युवा अवस्थामा थुप्रै ठाउँमा हात हाले पनि पछि आफ्नो बाटो कविता नै भएको ठाने र कवितामै दत्तचित्त भएर लागे।
अधिकारीले भरखरै ‘म बिर्सूं कसरी’ शीर्षकमा गीति सङ्ग्रह बजारमा ल्याएका छन्। यो पुस्तक मंसिर १२ गते विमोचन भएको हो। त्यसमा सुरुवाती दिनदेखि अहिलेसम्मका आफ्ना लोकप्रिय २०२ गीतहरूलाई समेटेका छन्। उनले तीन खण्डमा बाँडेर सङ्ग्रह निकालेका छन्। एउटा ‘देश परिवेश’ खण्ड छ। अर्को ‘घामको पदचाप’ र ‘शिशिरको सुस्केरा’ खण्ड समावेश छ। उनले गीत गाउन रहर गर्नेहरूलाई सहज होस्, आफ्ना गीत विभिन्न प्रोग्राम र युट्युबहरूमा गाएको सुन्दा शब्द नै बिगारेर गाउने गरेको सुन्दा चित्त दुखेर त्यस्तो नहोस् सबैलाई सहज होस् भन्ने उद्देश्यले गीति सङ्ग्रह बजारमा ल्याएको प्रतिक्रिया दिएका छन्।
पुसको जाडोमा पंखा चलाएर कविता सुनाउँदा...
एकपटक अधिकारी परिवार दोलखा घुम्न गएछ। पूजा आजा सकेर फर्कदा हाेटलहरुमा खानेकुरा सबै तिर सकिसकेकाे रहेछ। धेरै होटेलमा खाना पकाइदिन आग्रह गरे। तर कसैले पकाउन मानेनन्। केटाकेटी भोकाइसकेका थिए। त्यही क्रममा उनको बाटोमा एकजनासँग भेट भयो। उनले तपाईं दिनेश अधिकारी होइन भन्दै सोधे। अधिकारीलाई ती व्यक्तिले उनी फर्केको होटेल देखाउँदै तपाई त्यहाँ किन जानुभएको भनेर सोधेछन्। अधिकारीले आफूहरू भोकै रहेकाले खाना पकाइदिन आग्रह गरेको बताएछन्। त्यसपछि ती व्यक्तिले उक्त होटेल आफ्नो रहेको बताउँदै फर्काएर लगे र आफै खाना पकाएर खाना खुवाएछन्। उनले जति आग्रह गर्दा पनि खानाको एक रुपैयाँसमेत लिएनछन्। अधिकारी अहिले पनि जीवनमा पाएको यस्तो ममता सम्झिरहन्छन्।

उनको जीवनमा यस्तै अन्य सम्झना पनि छन्। प्रेमसिंह धामी एमालेबाट संसद् बनेका व्यक्ति हुन्। धामी साहित्यकार हुन् भने अधिकारीको कविताका प्रशंसक पनि। अधिकारी २०४१ सालमा सरकारी वकिल बनेर बैतडी जाँदै थिए। उनका साथीे डा. श्याम भट्टराई साझा प्रकाशन कञ्चनपुर शाखाको प्रमुख रहेछन्। प्रेमसिंह धामी तत्कालीन समयमा विद्यालय निरीक्षक पदमा कार्यरत थिए। उनका साथीले धामीलाई तपार्इं दिनेश अधिकारीको कविता खुब मन पराउनुहुन्थ्यो। उहाँ नै हो दिनेश अधिकारी भनेर चिनाएछन्। तर धामीले पत्याएनछन्, कलिलो युवा, बलियो कविता। उनलाई दिनेश अधिकारी यिनै हुन् भन्ने विश्वासै गर्न गाह्रो परेछ। अधिकारीका विभिन्न कविता याद छन्। बेलाबेला यो कविता तपाईंले लेखेको हो भनेर सोध्दा रै’छन्। हो भन्दा पनि विश्वास नगर्ने। जब उनले विश्वास गरे, अधिकारीलाई आफ्नोमा बस्न, खाना खान आग्रह गर्न थाले। उनको कुराको अगाडि अधिकारीको केही चलेन। उनी धामीको घरमा गए। खाना खाएर फर्किए। जुन ममता र सम्मानलाई उनी अहिले पनि सम्झिन्छन्।
बहुदलीय व्यवस्था पुनस्र्थापनापछि अधिकारीले साझा प्रकाशनका पदाधिकारीसँग अब तपाईंहरूको संवेदनशील ठाउँ पहिलाको जति संवेदनशील रहेन होला भनेछन्। त्यसपछि भने पहिले इन्कार गरेको पुस्तक साझाले प्रकाशन गर्यो। त्यही काव्यले पछि साझा पुरस्कार पायो।
अधिकारीको जीवनमा अर्को रोचक घटना छ। अधिकारीलाई कविता लेखेकै आधारमा राजकाज मुद्दा लागेको थियो। मुद्दाबाट छुटेको केही दिनपछि उनी डिल्लीबजारको एउटा सैलुनमा कपाल काट्न पुगे। उनलाई देख्नेबित्तिकै एक जनाले कपाल काट्न बसेको कुर्सीबाट उठेर हामी एकछिनमा बाहिर भेटौं, म बाहिरै कुर्छु भनेछ। ‘ती मान्छे पुलिस पुलिस जस्तो देखिन्थे, अधिकारी भन्छन्।’ केही दिनमात्रै भएको छ राजकाज मुद्दाबाट छुट्कारा पाएकाे।
उनलाई फेरि कुन कविताले मुद्दा लाग्ने भो भन्ने डर लागेछ। अधिकारीले कपाल काट्दै गरेको हजाम चिनजानकै रहेछ। उनलाई झमेलामा फस्नुभन्दा भित्रैबाट भागौं भन्ने पनि लागेछ। अन्तिममा डराएर डर जाँदैन भनेझैं उनी बाहिर निस्के। विजय मेमोरियल स्कुल छेउमा मिठाई पसल बाहिर उभिरहेका मान्छेले जाऊँ मिठाई पसलमा बसेर चिया पिऊँ, म कपाल काट्न बसाैला, फेरि तपाईं कपाल काटेर हिँड्नुहोला भनेर म कपाल नकाटी बाहिर पर्खेर बसेको भनेछन्। त्यसपछि दुवैजनाले सँगै बसेर चिया मिठाई खाए। अधिकारीको मुटुमा त्यो माया पनि गहिरो गरी बसेको छ।
२०७३ पुस ९ गते पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले अधिकारीको एकल कवितावाचन कार्यक्रम आयोजना गर्यो। उनीहरूले टिकटमा कविता सुन्ने कार्यक्रम आयोजना गरेका रहेछन्। पाँच सय अट्ने हलमा सबै कुर्सी हटाएर उभिँदासमेत कविता सुन्ने मान्छे भित्र नअटाएपछि एउटा साउन्ड बाहिर फर्काएर ग्राउन्डमा बसेर पनि केहीले कविता सुनेछन्। अधिकारीले भित्र कविता वाचन गरिरहँदा हल खचाखच भरिएको थियो । उकुसमुकुस भएर हलभरिका पंखा नै चलाउनुपरेछ। पुसको जाडोमा पंखा चलाएरै कविता सुनाउँदाकाे आानन्द र कविताप्रतिको ममता अधिकारीको मुटुमा गडेर बसेको छ।
प्रतिभा जन्मिरहन्छन्
अधिकारी कविताको अहिलेको गतिप्रति भने सन्तुष्ट छन्। उनी भन्छन्, ‘केही विशिष्ट प्रतिभाहरू विशिष्ट समयमा जन्मिन्छन् र तिनले गति पनि दिन्छन्। भीड त ठूलो जहाँ पनि हुन्छ। कतिले निरन्तरता दिन्छन्। कतिले आफूलाई परिमार्जन गर्छन् भन्ने कुरो मुख्य हुन्छ। कुनै विशिष्ट समयमा केही विशिष्ट प्रतिभाले त्यो समयलाई डोमिनेट गरेका हुन्छन्।’ अहिले पनि कविता लेख्नेहरूको भीड रहेको बताउँदै अधिकारीले केही प्रतिभा उच्च कोटीका रहेको बताए।
नायब सुब्बाबाट सचिवसम्मको जागिर
अधिकारी २०३८ साल भदौ २९ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। उनी सरकारी सेवामा नायब सुब्बा पदबाट प्रवेश गरेका थिए । २०४१ सालमा अधिकृत भए। सरकारी वकिलको हैसियतमा २० वर्षभन्दा लामो समय काम गरे। २०६१ साल असोजपछि उनले प्रशासन सेवामा प्रवेश गर्ने उद्देश्यका साथ न्याय सेवा छोडे। प्रशासन सेवामा प्रवेश गर्न लोकसेवाको जाँच दिए। पास भएर र सहसचिवको रुपमा सेवा गर्न थाले। २०६६ सालमा नेपाल सरकारको सचिवको जिम्मेवारी सम्हाले। २०७१ साल साउनमा सेवा निवृत भए। उनी सेवा निवृत हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सचिव थिए। अधिकारी आफ्नो जागिरे जीवन एकदमै सुखद रहेको बताउँछन्।
अन्त्यमा,
अधिकारीको नसानसामा साहित्य छ। उनी गीत/कविता नकोरी बस्नै सक्दैनन्। अधिकारी आफ्नो बाँकी जीवन पनि गीत/कवितामै खर्चिने बताउँछन्। उनी प्रतिलिपि ऐनको व्यवस्थाकाे कार्यान्वयन नहुँदा अत्यन्तै दुःखी छन्। संविधान र कानुनले बौद्धिक सम्पत्तिका रुपमा लिएको सिर्जनालाई सरकारले हलुका लिइँदा उनी दुःखी बनेका हुन्। राज्यले प्रतिलिपि अधिकार ऐनको कार्यान्वयन उच्च प्राथमिकतामा राख्नुपर्ने अधिकारीको ठहर छ। प्रतिलिपि ऐन कार्यान्वयन हुँदा सिर्जनाको बलमा बाँच्न सकिनेमा अधिकारी विश्वस्त छन्।
‘राज्यले हामीलाई थप केही दिनु पर्दैन’, अधिकारी भन्छन्, ‘कानुनले दिएको अधिकार सुरक्षित गरिदिए हुन्थ्यो।’ हुन पनि हो। अधिकारीका गीत निकै लोकप्रिय छन्। उनका सबै गीतको कुरा नगरौं। पहाडलाई जाडो बडे तराइले सेक्नुपर्छ..., यो सम्झिने मन छ... लगायतका केही गीतको मात्रै रोयल्टी पाउँथे भने अधिकारी करोडपति हुन्थे। उनी सबैलाई प्रतिलिपि अधिकारको कार्यान्वयन गर्न आग्रह गर्दछन्। संविधानले नै ब्यवस्था गरेकाे उक्त अधिकार कार्यान्वयन होस र कार्यान्वयनमा सरोकारवाला सबैको चासो जाओस्। याे अधिकारीकाे आग्रह हाे।
वरिष्ठ कवि अधिकारीको उज्याल भविष्यको कामना!
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४