माले- नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्स फुटबल वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् । उनले न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन परेरालाई पछि पार्दै उपाधि जितका हुन् ।
किरणले टिसी स्पोर्टसलाई धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी क्लबले यस सिजनको लिग उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलकिपर समेत चुनिएका थिए । किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्दा ५ खेलमा मात्र गोल खाए ।
गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई लिग उपाधि पनि जितेका किरणले उत्कृष्ट गोलरक्षककै उपाधि जित्दा निकै खुसी रहेको बताए । ‘लगातार व्यक्तिगत उपाधि जित्न सक्दा निकै खुसी छु ।
लिगको उपाधि र उत्कृष्ट गोलरक्षक बन्दा खुसी थिएँ । अहिले माल्दिभ्सकै उत्कृष्ट हुँदा खुसी व्यक्त गर्ने शब्द छैन ।’ उनले भने, ‘नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेको छु । मेरो सफलताले अन्य खेलाडीको लागि पनि सम्भावना ढोका खुल्ने विश्वास लिएको छु ।’
नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोर्ट्सबाट दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए ।
किरणले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप जिताउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो अवार्ड माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४