काठमाडौं, पुस १३ : पुस सुरु भएसँगै देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाले आकाशमा बादल नभएकाले हिमालबाट आएको हावाले काठमाडौं चिसिएको बताएको छ।
उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुन्छ। केही वर्षअघिसम्म पश्चिम दिशाको हावामात्रै प्रवेश हुने राजधानी खाल्डोमा अहिले उत्तर/पश्चिमी दिशा भएर हावा बहने गरेकाले चिसो वायुको मात्रा बढी भएको र तापक्रम घटेकोले काठमाडौं चिसिएको मौसमवीदहरु बताउँछन्।
बिहीबारबाट पश्चिमी वायूको प्रभाव पनि बढेकोले काठमाडौंको तापक्रममा गिरावट आएको हो। उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित बनाएको छ भने तराई मधेस क्षेत्रमा शितलहर र चिसोले जनजीवन कष्टकर बनेको छ।
शुक्रबार मनाङमा माइनस २०, हुम्लामा माइनस १३, जुम्लाको तापक्रमा माइनस ६ डिग्रीमा झर्दा काठमाडौंको तापक्रमा २ डिग्री सेल्सियस मापन गरिएको थियो। शनिबार बिहान काठमाडौंको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ। आज जुम्लाको तापक्रम माइनस ७ दशमलप६ डिग्री, जोमसोमको तापक्रमा माइनस ४ दशमलव ५ र जिरीको तापक्रम माइनस ३ दशमलव ५ डिग्री मापन गरिएको छ।
त्यस्तै डडेल्धुराको तापक्रम माइनस शून्य दशमलव ३ डिग्री, दिपयाको १ डिग्री, धनगढीको २ दशमलव ५ , विरेन्द्रनगरको १ दशमलव ९, नेपालगन्जको १ दशमलव ५, दाङको ३ दशमलव ५, पोखराको तापक्रम ६ दशमलव १ डिग्री मापन गरिएको छ। भैरहवाको तापक्रम ५ दशमलव ३ डिग्री, सिमराको २ दशमलव ५, ओखलढुंगाको ३, ताप्लेजुङको १ दशमलव ५, धनकुटाको ६ दशमलव ४, विराटनगरको ६ दशमलव ५, धरानमा १० दशमव ९, लुम्मेको २ डिग्री छ भने जनकपुरको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री मापन गरिएको छ।
आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा आज शुक्रकार बिहान सुर्योदय ६ बजेर ५४ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर १८ मिनेटमा हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४