काठमाडौं- गृह मन्त्रालयले लिटिल बुद्ध नामले चिनिने तपस्वी भनिएका रामबहादुर बोम्जनको विषयमा अनुसन्धान थालेको छ। गृहले सिन्धुपाल्चोक, सिन्धुली र बाराका आश्रमबाट तीन युवतीसहित पाँच अनुयायी गायब भए भएको विषयमा अनुसन्धान थालेको हो।
तपस्वी बोम्जनका पाँच जिल्लामा रहेका आश्रमलाई गृहले अनुसन्धानको घेरामा राखेको छ। बोम्जनको आश्रमबाट २०६९ देखि २०७२ सम्म पाँच जना बेपत्ता भएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता भएको छ। बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाउने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका हुन्।
बोम्जनको केन्द्र बारा भएकाले त्यहाँका प्रमुख जिल्ला अधिकारीले समन्वय गर्ने गरी अनुसन्धान अघि बढेको बताए। उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो र स्थानीय प्रहरीले समेत आफ्नै ढंगले कारवाही अघि बढाउने छन्। पाँच जिल्लामा घटना जेलिएकोले पाँचै जिल्लाबाट अनुसन्धान सुरु गरिएको छ।
प्रहरी प्रधान कार्यालयले बोम्जनका पाँच जिल्लामा रहेका आश्रम, आश्रमका मुख्य ब्यक्ति र उनी निकटहरुको विवरण मगाएर अनुसन्धान थालेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४