काठमाडौं- नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय हवाई टिकट भैरहवाबाहेकका स्थानबाट पनि काट्न सकिने व्यवस्था मिलाउने तयारी गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय हवाई टिकट भैरहवाबाहेकका स्थानहरूबाट पनि काट्न सकिने व्यवस्था मिलाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
काठमाडौंबाहिर भैरहवाबाहेक विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट काट्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएको निगमका प्रवक्ता रमेश पौडेलले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अन्तर्राष्ट्रिय उडानका टिकटहरू काठमाडौंबाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र बिक्री–वितरण भइरहेको थियो । दशैँ, तिहार र छठजस्ता ठूला पर्वको समयमा भैरहवाबाहेक विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि टिकटको व्यवस्था मिलाउन निर्देशन दिइएको हो
यसलाई प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित विभागीय प्रमुखहरूलाई निगमका कार्यकारी अध्यक्ष अधिकारीले निर्देशन दिएको प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।