बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार गठनको ६ महिनामा २६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

सरकार गठनको ६ महिनामा २६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

 |  बुधबार, असोज २१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०८३

काठमाडौं- सरकार गठन भएको ६ महिना पूरा हुँदा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढेको देखिए पनि त्यसलाई वास्तविक लगानी र उत्पादनमा रूपान्तरण गर्ने चुनौती कायमै छ। 

चैतदेखि भदौसम्म मात्रै २६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ। 

चैतमा एक अर्ब १२ करोड ९२ लाख रुपैयाँबाट सुरु भएको प्रतिबद्धता वैशाखमा करिब तीन अर्ब, जेठमा दुई अर्ब २९ करोड, असारमा १० अर्ब ३८ करोड, साउनमा चार अर्ब ७७ करोड २८ लाख र भदौमा ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ पुगेको हो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढी प्रतिबद्धता आएको छ। 

सरकार गठनपछि लगानीकर्ताको मनोबलमा केही सुधार देखिनुमा लगानी स्वीकृतिको प्रक्रिया सहज बनाइनुलाई मुख्य कारण मानिएको छ । विशेषगरी स्वचालित प्रणालीमार्फत हुने लगानी स्वीकृतिले साना तथा प्रविधिमा आधारित लगानीकर्तालाई नेपालमा प्रवेश गर्न सहज बनाएको छ। अघिल्लो अन्तरिम सरकारले १०२ प्रकारका व्यवसायमा स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो, जसलाई वर्तमान सरकारले निरन्तरता दिएको छ। 

गत आर्थिक वर्षमा दर्ता भएका एक हजार एक सय १६ उद्योगमध्ये आठ सय ९७ उद्योग यही प्रणालीमार्फत आएका थिए। यद्यपि, स्वीकृत प्रतिबद्धता बढ्दैमा त्यस बराबरको रकम नेपाल भित्रिएर उत्पादनमा प्रयोग भएको मान्न नसकिने भएकाले वास्तविक पुँजी प्रवाहको अवस्था अझै महत्वपूर्ण रहेको छ। अर्थविद्हरूले पछिल्ला कानुनी सुधारले लगानी वातावरणप्रति सकारात्मक संकेत दिएको बताएका छन्। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधनसहित लगानीसँग सम्बन्धित अन्य कानुनमा पनि सुधारको तयारी भइरहेकाले निजी क्षेत्रको विश्वास क्रमशः बढ्न सक्ने उनीहरूको भनाइ छ। समग्र आर्थिक वर्षको तथ्याङ्कले भने उत्साहजनक वृद्धिको तस्वीर देखाउँदैन। गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले ५८ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको थियो, जुन अघिल्लो वर्षको करिब ६५ अर्ब रुपैयाँभन्दा कम हो। 

रकमका आधारमा कृषि क्षेत्रमा सबैभन्दा धेरै २३ अर्ब १८ करोड रुपैयाँ प्रतिबद्धता आएको छ भने पर्यटनमा १३ अर्ब ९९ करोड, सेवामा चार अर्ब ९१ करोड, उत्पादनमा तीन अर्ब ९१ करोड र सूचना प्रविधिमा दुई अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ। अहिलेसम्म वैदेशिक लगानीबाट पाँच हजार आठ सयभन्दा बढी उद्योग दर्ता भइसकेका छन् भने स्वीकृत विदेशी लगानीको कुल रकम ६ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढी पुगेको विभागको तथ्याङ्क छ। प्रत्यक्ष वैदेशिक लगानीतर्फ केही सुधारका संकेत देखिए पनि सरकारी तहमा परिचालन हुने वैदेशिक सहायता र ऋणको अवस्था भने कमजोर छ। 

चालु आर्थिक वर्षमा सरकारले ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज १९ गतेसम्म पाँच अर्ब ८२ करोड ८ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ९.४३ प्रतिशत हो। बाँकी अवधिमा लक्ष्य पूरा गर्न ठूलो रकम जुटाउनुपर्ने अवस्था छ। अघिल्लो आर्थिक वर्षमा पनि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदानको लक्ष्य राखिए पनि ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ मात्रै प्राप्त भएको थियो।

प्रकाशित: Oct 07, 2026| 11:56 बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्