काठमाडौं- एनआईसी एशिया बैंकले विद्यालयमा निर्माण गरेको पुस्तकालयको उद्घाटन गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा निर्मित पुस्तकालयको उद्घाटन गरिएको बैंकले जनाएको छ ।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले निर्माण गरेका उक्त पुस्तकालय वनहरुमा पुस्तकालय समुद्घाटन गरिएको छ ।
बैंकद्वारा कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ति गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएका पुस्तकालय भवनमा यही २०८१ असोज ४ गते स्थानीय तह, विद्यालय र बैंकका प्रतिनिधिहरूको उपस्थितिमा समुद्घाटन गरिएको हो ।
आदर्श माध्यमिक विद्यालयको पुस्तकालय समुद्घाटन समारोहमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र गौरीगञ्ज माध्यमिक विद्यालयको पुस्तकालय समुद्घाटनमा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलबती राजवंशीको उपस्थिति रहेको थियो ।
दुवै कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख दिवाकर भट्टराई र सम्बन्धित विद्यालयका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब २५०० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरू प्रत्यक्षरूपमा लाभान्वित भएका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जानकारी दिए ।
यसअघि बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीको जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा निर्माण गरेको पुस्तकालय सञ्चालनमा आइसकेको छ ।
त्यसैगरी, मधेश प्रदेशको सिरहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय र पर्साको वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहु जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल र बागमती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको छ ।
बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कुल २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् ।
विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरूमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।