शनिबार, असोज १२, २०८१

कसरी स्वस्थ राख्ने फोक्सो ?

 |  बुधबार, असोज ९, २०८१
nespernesper

डा. रवी महत

डा. रवी महत

बुधबार, असोज ९, २०८१

हामीले हरेक वर्षझैं यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाइरहेका छौं। यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाइँदै छ।

triton college

फोक्सो मानिसका लागि नभई नहुने अंग हो। फोक्सोले कसरी काम गर्छ र फोक्सोलाई कसरी स्वस्थ राख्ने भन्नेबारे जान्न हामीलाई निकै जरुरी छ।

श्वास फेर्ने प्रक्रिया
श्वास फेर्दा हामी नाक वा मुखबाट हावा लिन्छौं। यो हावा नासिका मार्ग वा मुखबाट स्वासका नलीहरु हुँदै फोक्सोमा पुग्छ। फोक्सोका सानो एयर स्याकहरू, जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन र कार्बन डाइअक्साइडको आदानप्रदान हुन्छ। रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्दछ र कार्बन डाइअक्साइडलाई वायु मार्गबाट नाक वा मुखबाट निस्किन्छ।

फोक्सो आफैंले सास तान्न सक्दैन। सास फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्राम र छातीका मांसपेशी (इन्टरकोस्टल मांसपेशीहरू) पर्छन्। डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो। यसले फोक्सोलाई फुल्न र खुम्चन मद्दत गर्दछ। इन्टरकोस्टल मांसपेशीहरू करंगका हड्डीको बीचमा अवस्थित हुन्छन। यी मांसपेशीहरूले छातीको केजलाई फुल्न र खुम्चन मद्दत गर्दछ। यिनै मांसपेसीहरूको मद्दतले हामी श्वास फेर्छौं।

फोक्सोका महत्वपूर्ण कार्यहरूः
अक्सिजन आपूर्ति कार्बन डाइअक्साइड हटाउनेः फोक्सो शरीरमा अक्सिजन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ। सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बन डाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्तसञ्चारको शुद्धिकरण गर्छ।

Metro Mart
vianet

रोग प्रतिरोधात्मक क्षमताः फोक्सोमा साना रौंजस्ता सिलिया हुन्छन्, जसले धूलो, किटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले शरीरलाई रोगबाट जोगाउँछ।

ध्वनि उत्पादनः फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वरयन्त्रमा ध्वनि उत्पादनमा सहयोग पुर्याउँछ।

अम्ल–क्षारको सन्तुलन राख्न: हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटर जति हावा फोक्सो भित्र तानिरहेका हुन्छौं। एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११००० लिटर जति हावा लिन्छौं। प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्यासहरू मिसिएको हुन्छ। हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्यासहरु पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ।

धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्यासहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्तसञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ। वायु प्रदुषण, जलवायु परिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन्। जसका कारण विशेषगरि दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ।

फोक्सोका महत्वपूर्ण रोगहरूः
दम (सीओपीडी/आस्थ्मा): यो एक दीर्घकालीन समस्या हो। यसका लक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीटी बज्ने र छातीको दुखाइ आदि पर्दछन्।

फोक्सोको क्यान्सरः फोक्सोको क्यान्सर एक गम्भीर रोग हो जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन्। धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो।

निमोनियाः निमोनिया फोक्सोको संक्रमण हो। यो विभिन्न कारणले हुन सक्छ, जस्तै ब्याक्टेरिया, भाइरस वा फंगस। निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने समावेश छ।

क्षयरोग (टीबी): यो एक संक्रामक रोग हो, यो माइको ब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ। एसले मुख्यतया फोक्सो र शरीरका अन्य अंगहरुमा संक्रमण गर्दछ।

फोक्सोलाई स्वस्थ राख्ने र रोग लाग्नबाट बचाउने केहि सरल उपायहरूः
धुलो, धुवाँ, ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने।
घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानी गर्ने।
अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने।
खाना पकाउन, कोठाहरु तताउन कम प्रदूषण गर्ने इन्धन प्रयोग गर्ने
वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्ने
प्रदूषित क्षेत्रमा जानुपर्दा एन–९५ मास्क लगाउने
प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्ने

फोक्सोको स्वास्थ्यलाई कायम राख्न आहार र व्यायाम महत्वपूर्ण भूमिका खेल्छन्। स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ। साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्छ। विशेषगरी गहिरो सास फेर्ने अभ्यास, दौडने, पौडी खेल्ने र योग जस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ। फोक्सोको संक्रमणबाट जोगाउन संक्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हात धुने, मास्क प्रयोग गर्ने, आफूलाई संक्रमण भए सावधानी अपनाउने आदि गर्नुपर्दछ।

प्रशस्त झोल कुरा पिउनु पनि स्वास्थ्यका लागि महत्वपूर्ण छ। पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ। पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ।

फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ। फ्लू र निमोनियाबाट बच्नका लागि खोपले केहि हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ।

(डा. महत श्वासप्रश्वास रोग विशेषज्ञ हुन्)

प्रकाशित: Sep 25, 2024| 19:15 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्