सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व

सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व

 |  मंगलबार, असोज ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

पर्सा- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

National life

भन्सार विभागले कार्यालयलाई भदौसम्म नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन। कार्यालयले चालु आवको साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रूपैयाँ संकलन गर्‍यो भने चालु आवकै भदौमा भने चार अर्ब ६४ करोड १९ लाख एक हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले चालु आवको दुई महिनामा राजस्व संकलन उत्साहप्रद रहेको बताए। 'भन्सार विभागले दिएको लक्ष्यको साउनमा ७९ दशमलव २८ प्रतिशत राजस्व संकलन भयो भने भदौमा पनि मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत राजस्व संकलन गरेका छौँ', उनले भने, 'भदौमा चाडपर्व लक्षित आयात भएर लक्ष्यअनुसारको राजस्व संकलन गर्ने अपेक्षा भए पनि शतप्रतिशत संकलन हुन भने सकेन।'

भन्सार विभागले कार्यालयलाई ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ। कार्यालयले चालु आवको दुई महिनासम्मको अवधिसम्म कुल वार्षिक लक्ष्यको १३ दशमलव ९८ प्रतिशत राजस्व संकलन गरेको छ।

प्रमुख भन्सार अधिकृत बरुवालले दशैँ र तिहारजस्ता चाडपर्व नजिकै आउन लागेकाले पनि विदेशी तयारी मदिराजन्य आयात बढेको बताए। कार्यालयले आव २०८०/८१ को भदौसम्ममा भने आठ अर्ब ६५ करोड २० लाख ५९ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। त्यस्तै आव २०७९/८० को भदौसम्ममा सात अर्ब ६० लाख २२ लाख ३४ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 24, 2024| 20:31 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्