जनकपुरधाम- प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय तथा प्रदेशसभा सांसदहरुले प्रदेश सरकार कूटनीतिक मर्यादाविपरित गतिविधि गरेको आरोप लगाएका छन्।
प्रदेश २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभा गरी नेकपाका ११ जना सांसदहरुले प्रदेश सरकार कूटनीतिक मर्यादाविपरित गतिविधि गरिरहेको भन्दै छानबिनको माग गर्दै परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन्।
विगत केहिदिनयता प्रदेश सरकारका गतिविधिहरु कूटनीतिक मर्यादाविपरित देखिएको भन्दै छानबिन गर्न सरकारसँग माग गरिएको नेकपाका प्रदेशसभा सांसद रामकुमार यादवले जानकारी दिएका छन्।
परराष्ट्रमन्त्रालयको स्वीकृतिबिना प्रदेश सरकारका मुख्यमन्त्री देखि मन्त्रिहरु कूटनीतिक निकायका प्रमुखहरुसँग भेटघाट गर्दै आइरहेकोले यस विषयमा गम्भीर हुन परराष्ट्रमन्त्री ज्ञवालीलाई आफूहरुले ध्यानाकर्षण गरेके सांसद यादवले बताए।
उनले परराष्ट्रमन्त्रालयको स्वीकृतिबिना प्रदेश सरकारलाई कूटनीतिक भेटघाट गर्न नदिन आफूहरुले संघीय सरकारलाई आग्रह गरेको जानकारी दिए। यसैगरी प्रधानमन्त्री, मन्त्री, मुख्य राजनीतिक दलका नेताहरुले कूटनीतिक नियोगकका प्रमुखहरुसँग भेटगर्दा परराष्ट्र मन्त्रालयका अधिकारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने ज्ञापनपत्रमार्फत उनीहरुले माग गरेका छन्।
नेकपाका सांसदहरुले कूटनीतिक मर्यादाविपरितका गतिविधि रोक्न कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाइका साथ लागु गर्न सरकारसँग माग गरेका छन्।
ज्ञापनपत्रमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा अबिलम्ब कार्यकारी निर्देशक नियुक्त गर्नुका साथै संघीयता अनुकूल संस्थालाई पुर्नसंरचना गर्न सांसदहरुले माग गरेका छन्।
उनीहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति सञ्चालन सम्बन्धमा आवश्यक प्रशिक्षण दिनसमेत ज्ञापनपत्रमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक आचारसंहिता परिमार्जन गर्ने काम सुरु भइसकेको जानकारी दिएको बताए। आचारसंहिता तयार भए लगत्तै कडाइका साथ लागु गर्ने ज्ञवालीले प्रतिवद्धता जनाएको सांसद यादवले जानकारी दिएका छन्।
ज्ञापनपत्र बुझाउनेहरुमा प्रतिनिधिसभा सांसद प्रभु साह, लिलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिल कुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समीना हुृसेन, सुमनराज प्याकुरेल तथा प्रदेशसभा सांसद प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साह रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४