सोमबार, जेठ १८, २०८३

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

 |  बुधबार, असोज २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज २, २०८१

टक्सार (भोजपुर)- पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ। 

National life

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो। जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौंसम्म पनि उत्तिकै छ। 

अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए। उनले भने, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ।  मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु।” 

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन्। पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राईले त्यसैमध्येको एक हुन्। दश वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन्। राईले गाउँमै ध्रुव कृषि तथा पशुपालम फर्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका हुन्।

“वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, राईले भने। रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ। 
    
यसअघि मकै, कोदो, आलुलगायतको खेती गनेउहरु प्नि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ। पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गरेका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताए।

Shivam cement

जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ।  प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ। 

प्रकाशित: Sep 18, 2024| 09:02 बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्