सोमबार, मंसिर २९, २०८२

चाडबाडलक्षित सहुलियत पसल असोज ७ गतेदेखि

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

काठमाडौं- चाडबाडलक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्।

National life

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो।

आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ। 

सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ। कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ।

सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो सात रुपैयाँ, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात रुपैयाँ र डिडिसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

Laxmi sunrise bank
kumari

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ। उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ। साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ।

दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ। चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ।

त्यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको  मन्त्रालयले जनाएको छ।

चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा सोको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्नेछ। यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो। रासस

प्रकाशित: Sep 12, 2024| 14:11 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्