नेपाल प्रहरी विधि विज्ञानको सई भनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
बाँकेको राप्तिसोनारी गाउँपालिका-७ लालपुर बस्ने ३६ वर्षीय लोकबहादुर खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।
उनलाई सुर्खेतको लेकबेंसी नगरपालिका-२ को दशरथपुरबाट पक्राउ गरिएको हो। उनीसँगै उनका सहयोगी दैलेखको गुराँस गाउँपालिका-६ का २७ वर्षीष विकास वीसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले गुँरास-६ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
खाणले दैलेख, जाजरकोट, कालीकोट, सल्यान, सुर्खेत , भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा , बाँके लगायत १६ जिल्लाका विभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परीक्षणको क्रममा संकलन भएको स्वाब परीक्षणको प्रतिवेदन छिटो झिकाएर मुद्दा मिलाइदिन्छु, मानिस छुटाइदिन्छु भनी उनीहरूले ठगी गर्ने गरेको पाइएको छ।
विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूबाट मुद्दा मिलाइदिन्छु भनी नगद पाँच लाख छ हजार पाँच सय पैतीस रूपैयाँ ठगी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। उनीहरूलाई जिल्ला अदालत दैलेखबाट म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए।