जनकपुरधाम- धनुषाको नगराईन नगरपालिका-६ लगमामा जापान सरकारले विद्यालय भवन बनाउने भएको छ । जापान सरकारले लगमास्थित वासुदेव राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण गर्न लागेको हो।
भवन निर्माण गर्न बिहिबार काठमाण्डौंस्थित जापानी दूतावास र विकास फाउन्डेसनबीच सम्झौतामा हस्ताक्षर भएको छ । विद्यालय भवन निर्माणका लागि जापान सरकारले ९० लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । लगमामा विद्यालय भवन निर्माणका लागि पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पहल गर्दै आएका थिए ।
सम्झौतामा जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत मासामीची साइगो र फाउन्डेसनका तर्फबाट श्यामसुन्दर चौधरीले हस्ताक्षर गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिएका छन् । जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम अन्तर्गत यो सहयोग गरिएको उनले बताए ।
सम्झौता हस्ताक्षर कार्यक्रममा कांग्रेस उसभापति निधिले नेपालको शिक्षा, सडकलगायतका विकास निर्माणको क्षेत्रमा जापान सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए ।
यसैगरी जापानी राजदूत साइगोले कांग्रेस नेता निधिसँग भएको परामर्श र छलफलपछि परियोजना अगाडी बढेको बताएका थिए । चारवटा कक्षा कोठा बनेपछि विद्यालयमा गुणस्तरीय शिक्षाको पहुँचमा मद्त पुग्ने उनले उल्लेख गरे ।
सम्झौता हस्ताक्षरको अवसरमा प्रदेश २ को कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, प्रदेश सांसद शिवचन्द्र चौधरी, नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव, कांग्रेस महासमिति सदस्य अनामिका निधि, कांग्रेसका क्षेत्रीय सचिव दिनेशचन्द्र दीपकलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४