सोमबार, साउन ११, २०८३

जनकपुरमै घर भएका सांसदले पनि लिन्छन घरभाडा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेशसभा सांसदहरुलाई सचिवालयले मासिक तलब, बैठक भत्तासहित विभिन्न शीर्षकका सुविधाहरु उपलब्ध गराएको छ। प्रदेशसभा सचिवालयले सांसदहरुलाई घरभाडा वापतसमेत सुविधा दिने गरेको छ।

बाहिर घर भई राजधानीस्थित प्रदेशसभा रहेको स्थानमा बहालमा बस्‍नुपरेका सांसदहरुका लागि घरभाडाको सुविधा उपलब्ध गराइएको हो । तर प्रदेश २ मा प्रतिनिधित्व गर्ने कतिपय सांसदहरु राजधानी जनकपुरमै घर हुँदासमेत प्रदेशसभा सचिवालयबाट घरभाडा बुझ्दै आएको रहस्य खुलेको छ।

प्रदेशसभा सचिवालयले जनाए अनुसार मन्त्री भइसकेका बाहेक अन्य सबै सांसदहरुले घरभाडा वापत मासिक १५ हजारदेखि २० हजारसम्म रकम बुझ्दै आएका छन् । यसैगरी सरकारी आवास सुविधा पाउन नसकेका राज्यमन्त्रीहरुले समेत मासिक घरभाडा बुझ्ने गरेको बताइएको छ।

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवको घर जनकपुरमै छ। जनकपुरधाम उपमहानगरपालिका–४ क्याम्पस चोक नजिकै घर रहेपनि संसदीय दलका नेता यादवले घरभाडावापत मासिक १८ हजार रुपैयाँ लिँदै आएका छन्।

यसैगरी राजपाका सचेतक परमेश्वर साहको घरपनि जनकपुरमै छ । उनी आफ्नै घरमा बस्दै आएका छन् । तर सचेतक साहले पनि घरभाडावापत मासिक १८ हजार रुपैयाँ बुझ्दै आएका छन्।

कांग्रेस संसदीय दलका नेता यादव र राजपा सचेतक झैं नेकपाका रामचन्द्र मण्डल र किशोरी साह, राजपाका सुरिता साह, जैनुल राइन, रीना यादव, जानकीशरण साह, कांग्रेसका मञ्जुकुमारी यादव, सरस्वती चौधरी, प्रमिला दास, शिवचन्द्र चौधरी, संघीय समाजवादी फोरमका कौशल यादव र रामअशिष यादव पनि जनकपुरमा घर रहेपनि घरभाडावापत रकम लिइरहेका छन्।

जनकपुरमै घर हँुदाहुँदै घरभाडा किन लिइरहेको नेपाल समयको जिज्ञासामा नेपाली कांग्रेस संसदीय दलका नेता यादवले घर भएका सांसदहरुले घरभाडा लिन नहुने व्यवस्था नरहेकोले घरभाडा लिइरहेको प्रतिक्रिया दिए।

प्रदेशसभा भएकै स्थानमा घर भएका सांसदहरुले घरभाडा लिन नहुने बताउँदै यसखाले नियम बने उक्त रकम आफू उक्त रकम नलिने उनको भनाइ थियो। यसैगरी राजपाका सचेतक साहले सबै सांसदहरुले घरभाडावापत रकम लिइरहेकोले आफूले पनि लिने गरेको प्रतिक्रिया दिएका छन्। 

जनकपुरमै घर भएका सांसदहरुले घरभाडा वापतको रकम लिन नहुने उनको पनि भनाइ थियो। ‘म मात्र होइन यहाँ घर भएका अन्य सांसदहरुले पनि घरभाडा लिइरहनु भएको छ,’ सचेतक साहले भने,‘घर भएका सांसदहरुले घरभाडा लिन नहुने व्यवस्था भएपछि हामीपनि लिन्नौं ।’

प्रमुख विपक्षी दलका नेतालाई प्रदेशसभा सचिवालयले मासिक २० हजार घरभाडा दिँदै आइरहेको छ भने संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतकले मासिक १८ हजार घरभाडा पाउँछन् । यसैगरी प्रदेशसभाका अन्य सांसदहरुले घरभाडावापत मासिक १५ हजार पाउने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

यसबाहेक प्रमुख प्रतिपक्ष दलका नेता, संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतकले गाडी भाडावापत ६० हजार पाउने गरेका छन् । यसैगरी प्रमुख सचेतक र विपक्षी दलका नेताको मासिक तलब ५७ हजार ८००, संसदीय दलको नेताको तलब ५६ हजार ४ सय र सांसदहरुको तलब ५२ हजार ६ सय तोकिएको छ । संसदको प्रतिबैठकको भत्तावापत सांसदहरुले एक हजार पाउने गरेका छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।