शुक्रबार, चैत २०, २०८२

कुमाल समुदायको माटोका भाँडा बनाउने पेसा लोप हुँदै

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

पर्वत- नेपाली समुदायमा यस वर्षका चाडपर्व सुरु हुन थालेका छन्। चाडपर्वका बेला माटाका भाँडा तथा अन्य सामग्रीको माग अन्य समयभन्दा बढी हुने गरे पनि पछिल्ला केही वर्षदेखि पर्याप्त माटोका भाँडा बनाउने प्रचलन लोप हुँदै गएको छ।

National life

मेहनत गरेर माटोका भाँडावर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेसा लोप हुँदै गएको हो। सीप र परिश्रम अनुसार ज्याला नउठ्ने, बजारमा प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा माटाका भाँडा बनाउने पेसा हराउँदै गएको कुश्मा नगरपालिका-८ का स्थानीय बुधे कुमालले बताए।

विसं २०४२/४३ देखि कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न गाह्रो हुन थालेपछि विकल्पमा अन्य काम गर्न थालिएको उनको भनाइ छ।

विकल्प खोजेसँगै माटाका भाँडामा कुमालहरुले भर्ने कलात्मक बुट्टा तथा सिर्जनात्मक सीप लोप हुँदै गएको ९१ वर्षीय बुधेले बताए। जीजुबाजेका पालादेखि माटोका हुण्डा, घैँटो, गलौँसा, आरी, ठेकी, दियो, पाला, भुड्कालगायत भाँडाकुँडा बनाउँदै आइएकामा पछिल्ले समय पुस्तान्तरण हुन नसक्नु, बजार माग कम हुनुलगायत कारणले पेसा लोप हुँदै गएको उनले उल्लेख गरे।

उनीहरुको सीप र कला भोलिको पुस्ताले जीवित राख्ने कुरामा शंका रहेको बुधेको भनाइ छ। 'परिश्रम धेरै गर्नुपर्ने हुन्छ, परिश्रम अनुसारको मूल्य नपाइने भएकाले बाउबाजेको पेसा धान्न मुस्किल परेको छ', भीमबहादुर कुमालले भने। 
 
माटाका भाँडा बनाउन माँझमेलाबाट ल्याइएको कालो चाम्रो माटो, खरेहा फलामखानीको रातो माटो र कालीगण्डकीबाट ल्याइएको बालुवा मुछेर, कुटेर चाम्रो बनाइ थमारेर औँडी बनाइ पोल्ने गरिएको उनले बताए।

kumari

'औँडीका लागि सुकेका दाउरा, गुइँठा, हाडेउन्यू समेतको जोहो गर्नुपर्ने हुन्छ', कुश्मा-८ का ८० वर्षीय चन्द्रबहादुर कुमालले भने, 'अहिलेको पुस्ताले यस्तो दुःख गर्न छाडिसकेका छन्। त्यसैले हाम्रो पुर्ख्यौली पेसा संकटमा छ।'

तत्कालीन समयमा कुमालहरुले बनाएका माटाका भाँडा भोटबाट आएका भोटेहरुले बास बसेर किनेर लग्ने गर्दथे। माटाका भाँडाहरु स्थानीय गाउँघरमा केही मात्रामा बिक्री भए पनि ठूलो बजारमा माग नभएको चन्द्रबहादुरले बताए।

परिवारको सङ्ख्या बढेसँगै माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन हुन थालेपछि पछिल्लो पुस्ताले यसको विकल्प रोज्न थालेका भीमबहादुर कुमालले बताए। नयाँ पुस्तामा सीपको कमी, बजार माग नहुनु, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले पेसा संकटमा पेसा लोप हुँदै गएको उनको भनाइ छ।

पछिल्लो समय वैदेशिक रोजगारप्रति स्थानीय कुमाल समुदाय आकर्षित हुँदै गएकाले भाँडा बनाउने पेसासँगै उनीहरुको सीप, कला पनि लोप हुँदै गएको स्थानीय हरि न्यौपानेले बताए। पुराना कला, संस्कृति र पेसाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

पर्वतको सदरमुकाम कुश्मा र दक्षिण पर्वतको विहादी गाउँपालिकाका रानीपानी र बर्राचौरमा कुमाल समुदायको बसोबास रहेको छ। विहादीमा पनि यो पेसा लोप भइसकेको न्यौपानेले जानकारी दिए। पुस्ता हस्तान्तरसँगै युवालाई स्वरोजगार बनाउन स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। रासस

प्रकाशित: Sep 09, 2024| 06:01 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्