सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राइम लाइफ इन्स्योरेन्सका तीन कर्मचारी ठगी आरोपमा जेल चलान

प्राइम लाइफ इन्स्योरेन्सका तीन कर्मचारी ठगी आरोपमा जेल चलान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छ मध्ये तीनजना पुर्पक्षका लागि जेल चलान भएका छन्। 

काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्ने प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ को नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो। उनीहरुमध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी पुर्पक्षका लागि जेल चलान भएका हुन्। 

उदयपुरका भोला पोखरेल दुई लाख रुपैयाँ धरौटी तिरेर छुटेका छन् भने काभ्रे घर भई हाल काठमाडौँ चाबहिल बस्ने सिंहबहादुर लामा र स्याङ्जाका ध्रुव रेग्मी धरौटी तिर्न नसकेपछि जेल चलान भएका छन्। 

जिल्ला अदालत काठमाडौँले लामालाई दुई लाख र ध्रुव रेग्मीलाई दुई लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो। लामा वल्डवेज मेनपावर इन्सुरेन्सका श्रम प्रतिनिधि हुन् भने अन्य प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी भएको प्रहरीले जनाएको छ। 

प्रकाश रेग्मी १७ को नक्कली बीमालेख जारी गरेको मुद्दामा गएको वैशाखमा एक लाख धरौटी तिरेर तारेकमा छुटेका व्यक्ति हुन्। त्यो मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला पुनःनक्कली बीमालेख बनाई ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको हो । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा मङ्सिरमा काठमाडौँ जिल्ला टोखा नगरपालिका-९ मिलनटोलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो। 

वल्डवेज म्यानपावर इन्सुरेन्सबाट लामामार्फत बीमाको लागि आवश्यक कागजात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत प्रकाश रेग्मीले बुझेकोमा हालसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट ७०९ वटा नक्कली बीमालेख जारी गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। अहिलेसम्म ४३४ वटा नक्कली बीमालेख भेटिए पनि अन्य विषयमा अनुसन्धान जारी रहेको ब्यूरोको भनाइ छ। 

अन्य म्यानपावर तथा व्यक्तिगत रुपमा समेत बीमा कम्पनीका कतिपय बीमालेख नक्कली हुनसक्ने भएकाले सम्बन्धित कम्पनीमा गई रुजु गर्न तथा नक्कली भएमा उजूरी गर्न समेत प्रहरीले सबैमा अनुरोध गरेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।