शनिबार, चैत २१, २०८२

ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

ढोरपाटन (बागलुङ)- यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षणले टेण्डर खुलाएको छ। आगामी असोजदेखि हुने सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्न चाहने सिकारीका लागि टेण्डर खुलाएको हो।

National life

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ वटा नाउर, आठ वटा झारल र ११ वटा बँदेल सिकार गर्न टेण्डर खुलाइएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए। टेण्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि सिकार सुरु हुने उनको भनाइ छ। 

धेरै महँगो र साहसिक हुने हुँदा धेरै जसो विदेशी सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा आएर सिकार खेल्ने उनले बताए। टेण्डर प्राप्त गर्ने संस्थाले नेपाली तथा विदेशी सिकारी ढोरपाटन लैजाने प्रमुख कँडेलको भनाइ छ। ढोरपाटनमा प्रत्येक वर्ष पहिलो सिजन असोज–मङ्सिर र दोस्रो सिजन फागुन–वैशाखमा सिकार याम सुरु हुने उनले बताए। उनका अनुसार गत वर्ष सिकार आरक्षणबाट चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको थियो।

बागलुङ, पूर्वी रुकुम र म्याग्दी गरी तीन जिल्ला फैलिएको सिकार आरक्षणलाई सिकार खेल्नका लागि सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र  घुस्तुङ ७ ब्लकमा विभाजन गरिएको छ। यस आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् भने नाउर, झारल, थार र हिमाली भालु पाइन्छन्। यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चरा पाइने सिकार आरक्षण कार्यालयले जनाएको छ।

प्रकाशित: Sep 04, 2024| 19:42 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्