काठमाडौं- २०७२ सालको बिनाशकारी भूकम्पले ढलाएको धरहरा झन्डै चार वर्षपछि फेरि शिलान्यास भएको छ । लामो अन्योल र अलमलपछि नेपाली लगानीमा धरहरा निर्माणको प्रक्रिया थालिएको हो। यसअघि पनि अघिल्लो पटक सरकारको नेतृत्वमा हुँदा केपी शर्मा ओलीले नै नेपाली लगानी धरहरा बनाउने योजनासहित शिलान्यास गरेका थिए ।
भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ भूकम्प प्रतिरोधि सुरक्षित धरहरा बनाउन थालिएको हो । ३ अर्ब ४५ करोड रुपैयाँमा २ वर्षभित्रै सक्ने गरी धरहराको काम थालिएको हो। अब बन्ने धरहरा २२ तलाको बन्नेछ ।
अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसक्दा पुनर्निर्माण प्रक्रियाले गति लिएको थिएन्।
गएको असोज २४ गतेदेखि जीआईईटीसी रमन जेभी कम्पनीले धरहरा पुनर्निर्माणको काम सुरु गरेको छ ।
२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहरामा भर्याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।
धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।
धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ ।
धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।
यो पनि पढ्नुहोस्
कहिले ठडिएला धरहरा ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४