सोमबार, साउन ११, २०८३

कुलतमा फस्नेमा हुनेखानेहरू नै ज्यादा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- रुपन्देही प्रहरीले मंसिर २७ गते नवलपरासी रामग्रामका दुर्गाप्रसाद चौधरीलाई स्याउको कार्टुनभित्र लैजाँदै गरको अवस्थामा लागूऔषधसहित सिद्धार्थ नगरपालिका–४ गल्लामण्डीबाट पक्राउ गर्‍यो । खानतलासीका क्रममा उनले बोकेको स्याउको कार्टुनबाट प्रहरीले डाइजोपाम, एम्पुल, नुफिन, फेनारगन नामक लागूऔषध बरामद गरेको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनी लागूऔषधका सप्लायर्स भएको बुझिएको छ । यसरी लागूऔषध प्रयोगकर्ताले पछिल्लो समय प्रहरीलाई पनि छक्काउँदै ओसारपसारका लागि नयाँनयाँ उपाय अपनाउँदै गएको छ । दसगजापारिको भारतीय बजार सुनौली नौतनवाका औषधिपसलमा खुलेआम लागूऔषध पाइने हुँदा प्रहरीलाई नाका सुधार्न चुनौती थपिएका बेला ओसारपसारकर्ताले नयाँनयाँ उपाय अपनाउँदा प्रहरीलाई हैरानी थपिदिएको छ । 

रुपन्देहीको दसगजापारि खुलेआम लागूऔषध बिक्रीवितरण हुने गर्दछ । प्रहरीका अनुसार सबैभन्दा धेरै लागूऔषध सेवनकर्ता स्थानीय नभई बाहिरको बढी भएको देखिएको छ । प्रहरीका अनुसार काठमाडौं, नारायणगढ, धादिङ, पोखरा क्षेत्रका युवा लागूऔषधको लतमा बढी फसेको देखिएको छ । रुपन्देही प्रहरी प्रमुख हृदय थापा भन्छन्, ‘लागूऔषध आफैँमा महँगो चिज भएको हुँदा यसको प्रयोगकर्ता पनि सम्पन्नशाली परिवारका सदस्य रहेको देखिएको छ ।’ प्रहरीका अनुसार आर्थिक हिसाबले सम्पन्नशाली तर बुबाआमाको रेखदेखबाट बाहिर रहेका लागूऔषधको लतमा फसेका छन् । 

सीमा क्षेत्रमा लागूऔषध सेवनकर्ता र ओसारपसार गर्नेको संख्या वृद्धि हुँदै गएपछि ०७४ माघ ८ देखि लागूऔषध नियन्त्रणका लागि सिमानाका बेलहियामा दैनिक रूपमा नेपाल प्रहरी र स्थानीय संघसंस्थाले संयुक्त रुपमा अभियान सञ्चालन गरिरहेका छन् । भर्खरै सरुवा भएर गएका इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक वीरबहादुर थापाको नेतृत्वले बेलहियामा लागूऔषध नियन्त्रणमा उल्लेखनीय काम गरेको बेलहियाका स्थानीय बासिन्दा डा. शान्तकुमार शर्माले जनाए । नेपाल–भारत मैत्री समाजका अध्यक्षसमेत रहेका डा. शर्माका अनुसार सीमापारिको प्रहरी प्रशासन र नागरिकसँग मिलेर लागूऔषध सम्बन्धमा जनचेतना फैलाएमा प्रभावकारी हुनेछ । 

प्रहरीले सीमा क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको थियो । सोही अभियानको प्रतिफल लागूऔषधको मुद्दा घटेको बुझिएको छ । अर्कोतर्फ रुपन्देही प्रहरीले विगतमा मात्राका आधारमा सुधार गृहमा पठाउने र मुद्दा चलाउने गरिएकामा अहिले जत्तिसुकै सानो परिणाम भए तापनि मुद्दा चल्न थालेपछि यो दर घटेको हुन सक्ने बुझिएको छ । 

दसगजापारि सुनौली बजारमा रहेका समीर मेडिकल, किसान मेडिकल र अजमेरी मेडिकलले खुलेआम औषधिजन्य लागूपदार्थ बिक्रीवितरण गरिरहेका छन् । नेपाल–भारत काउन्टरपार्ट बैठकमा लागूऔषधका विषयमा नेपाली पक्षले जोडदार रुपमा सीमावर्ती क्षेत्रका मेडिकलमा लागूऔषधको भइरहेको बिक्रीवितरणमा रोक लगाउन माग गरेको भए तापनि त्यसको खासै सुनुवाइ भएको छैन । यद्यपि भारतीय प्रहरीले ब्राउन सुगरको व्यापार गर्दै आएकालाई भने पक्राउ गर्ने गरेको छ । 

बेलहिया नाकामा लागूऔषध नियन्त्रणकै लागि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा प्रहरी निरीक्षकको कमान्डमा सञ्चालित छ । सिभिलमा जिल्लाभरि खटिने यो टोलीको काम खासै प्रभावकारी देखिन सकेको छैन । उक्त टोलीले भन्दा प्रहरीको जिल्ला र इलाका प्रहरी कार्यालय बेलहियाको रेकी टोलीले लागूऔषध ओसारपसार र प्रयोगकर्तालाई बढी पक्रिने गरेको तथ्यांकले सिद्ध गरेको छ । रुपन्देही प्रहरीले कडाइ गरेपछि लागूऔषध प्रयोगकर्ताहरु कपिलवस्तु नाकातर्फ हानिएको बुझिएको छ ।

मापदण्डविपरीतका सुधारगृह सञ्चालनमा 

रुपन्देहीमा १० वटा लागूऔषध पुनस्र्थापना केन्द्र दर्ता भएर सञ्चालनमा छन् । तीमध्ये अधिकांश मापदण्डअनुसार पूर्ण छैनन् ।  जिल्लामा कृपा समूह, करुणा चौतारी फाउन्डेसन, आशा फाउन्डेसन, लुम्बिनी समाज सहयोग समूह, नवयात्रा लागूऔषध उपचार, युनाइटेड लुम्बिनी, लाइफ केअर ड्रग्स तथा अल्कोल ट्रिटमेन्ट, टेवा, युथ भिजन र संकल्प समूह सुधागृहका रूपमा सञ्चालनमा छन् । चौतारी फाउन्डेसनबाहेक अन्य सबै सुधारगृह भाडाको घरमा सञ्चालित छन् । अधिकांश सुधारगृह यातनागृह जस्तै भएका छन् ।

चिकित्सकहरु पनि नियमित छैनन् । शुद्ध खानेपानी र स्वस्थ आहारको व्यवस्था पनि छैन । सुधारगृहमा प्रत्येक महिना सेवाग्राहीबाट कम्तीमा १२ हजारदेखि बढीमा २० हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।

ओसारपसारमा कमी

बेलहिया नाकाबाट लागूऔषध ओसारपसारमा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/०७३ देखि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको मुद्दा संख्या र पक्राउ संख्याले यस्तो देखाएको हो ।

आर्थिक वर्ष २०७२२/२०७३ मा लागूऔषधसम्बन्धी तीन सय २८ वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा चार सय ७० जना पक्राउ परेका थिए । यसैगरी आर्थिक वर्ष ०७३/०७४ मा  चार सय नौ लागूऔषध मुद्दा दर्ता भएका थिए भने पाँच सय ८१ जना पक्राउ परेका थिए । 

आर्थिक वर्ष ०७४/०७५ मा मुद्दा तीन सय २५ छ भने पक्राउ संख्या चार सय ८१ रहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ९७ वटा दर्ता भइसकेका छन् भने अहिलेसम्म एक सय ५१ जना पक्राउ परेका छन् । प्रहरी सक्रियताले सीमा क्षेत्रबाट हुने लागूऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या घटेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । तर पनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा ९० प्रतिशत थुनुवा अझै पनि लागूऔषध मुद्दा खेपिरहेका छन् । 
 

 






 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।