काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
नागरिक दैनिकले दुई तिहाइको सरकार हुँदा पनि लगानी भित्रिन नसकेको, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु निजी कलेजमा व्यस्त हुने गरेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा गरेको विषयलाई महत्वका साथ छापेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने वाइडबडी खरिदमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा गरेको छ । उनले वाइडबडीको भुक्तानी गर्दा महालेखापरिक्षकसँग राय लिएको दावी गरेका थिए । तर, महालेखापरिक्षक टंकमणि शर्माले सार्वजनिक लेखा समितिमा स्पष्टिकरण दिदै आफूसँग कुनै राय नलिएको र मन्त्रीले झुट बोलेको दाबी गरेका छन् ।
यस्तै नेपाल आइडल रवि ओडको आमाको मृत्यु भएको विषयलाई पनि उसले प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिका दैनिकले प्रदेश राजधानीमै घर भएर पनि प्रदेश सांसदहरुले घर भाडा लिने गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
उसले कुन प्रदेशका कति सांसदले घर भाडा लिइरहेका छन् भन्ने पनि खुलाएको छ । यस्तै बुधबारबाट सुरु भएको संसदमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी परेको विषयलाई पनि प्राथमिकता दिएको छ ।
बारामा शिक्षकको कुटाइबाट सात कक्षामा पढ्ने एक छात्रको मृत्यु भएको विषयलाई कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ ।
शिक्षक सोनालाल यादवले निर्मम ढङ्गले कुटपिट गरेकै कारण कलैया उपमहानगरपालिका १ स्थित नमुना निमाविमा अध्ययनरत अजय कुमारको मृत्यु भएको हो । अजयलाई शिक्षकले पैतालादेखि घाटीसम्म बासको लठ्ठीले पिटेको प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताएका छन् ।
यस्तै कान्तिपुरले रामबहादुर बम्जनको आश्रमबाट तीन जना आनी बेपत्ता भएको भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । उसले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा गरेको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४