काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्। झाले बुधबार राजीनामापत्र सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बुझाएको स्रोतले जानकारी दिएको छ।
सरकारले भ्रष्ट र विवादित छवि भएका व्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा गलत सन्देश गएको भन्दै चौतर्फी आलोचना भएको थियो। भदौ २८ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्ति गरेको थियो। उनको विषयमा नेकपामासमेत चर्को आलोचना भएको थियो। नेकपाका ४३ केन्द्रीय सदस्यले उनको राजिनामा माग गर्दै पार्टी अध्यक्षलार्ई ध्यानाकर्षणपत्र बुझाएका थिए।
बुधबार बिहान नै रिपोर्टस क्लबमा बोल्दै झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने बताएका थिए। उनले भने,‘मलाई कुनै पदको लोभ छैन। 'म जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे होईन, म त काम गर्ने मान्छे हुँ। म सर्भिस डेलिभर गर्ने मान्छे हो। म पनि स्वतन्त्र नागरिक हुँ। मेरोपनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा छ। मेरो प्रतिष्ठामाथि आँच पुर्याउनेगरि नेताज्यूहरुले बोल्नुभन्दा अगाडि कमसेकम अध्ययन गरिहाल्नुहोस्। कसैलाई पनि आरोप लगाउँदा अन्याय नहोस् भनेर सोच्नुपर्छ।’
सरकारले देउवा सरकारले नियुक्त गरेका सबैलाई एकमुष्ट हटाउने क्रममा बर्खास्तीमा परेका झालाई सरकारले पुनः नियुक्त गरेको हो। उनी ४ वर्षका लागि नियुक्त भएका थिए। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार झा प्राधिकरणमा दोहोरिएका थिए।
थप पढ्नुहोस्,
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४