सांकेतिक तस्बिर
जनकपुरधाम- धनुषामा एक आमाले दुई छोरालाई विष खुवाएर आफू पनि विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरेकी छिन्। घरायसी विवादका कारण धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-१ सोनामाई खजुरी टोल बस्ने रविन्द्र यादवकी २४ वर्षीया श्रीमती रिना देवी यादवले आफ्ना दुई छोरासहित आफूपनि विष सेवन गरेकी हुन्।
विष खुवाएका ३ वर्षका कान्छो छोरा रितेशको मृत्यु भएको छ भने जेठो छोरा ५ वर्षीय रितिक र आमा रिनाको जनकपुरस्थित जानकी हेल्थ केयर र जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार सोमबार राती रिनाको ससुरासँग घरायसी कुरामा विवाद भएको थियो । विवादपछि आक्रोशमा आएकी रिना मंगलबार बिहान दुबै छोरालाई बाकेर घरबाट निस्केकी थिइन्।
परिवारका सदस्य र छिमेकीहरुले खोज तलाश गर्ने क्रममा रिना र उनका दुबै छोरा विष सेवन गरिसकेको अवस्थामा जनकपुरधाम-१४ कवर्डहल नजिक मंगलबार दिउँसो ३ बजे फेला परेकी थिइन्।
विष खुवाएका कारण कान्छो छोरा र आमा सिकिस्त अवस्थामा थिए भने जेठो छोरा सडकमा लडबडाई हिडिरहेको अवस्थामा फेला परेको बताइएको छ।
तिनै जनालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो छोरा रितिकको बाटोमै ज्यान गएको थियो। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४