काठमाडौं- संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधि र राष्ट्रीय सभाका सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए।
बैठकमा राजनीतिक परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो। संसदको हिउँदे अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल र पारित गरिनेछ।
नेपालको संविधानको साझा सूचीमा रहेका, सविधानसँग बाझिने तथा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण र संशोधन यसअधिवेशनको मुख्य कार्यभार रहेको छ। अधिवेशनको प्रारम्भका अवसरमा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेता एवं सदस्यहरुले शुभकामनासहितको मन्तव्य राख्ने क्रम सुरु भएको छ।
आजैको बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ भने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्नु हुने कार्यसूची छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४