काठमाडौं- ‘नाडा अटो शो २०२४’ सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शो सुरु भएको हो।
उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रलाई सरकारको पूर्ण संरक्षण रहने प्रतिबद्धता जनाउँदै व्यवसायीहरूलाई आश्वासन दिए। अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारीमा पुर्याएको योगदानको प्रशंसा गर्दै भने, ‘सरकारले व्यवसायीलाई सहयोग गर्छ, तर अवैध गतिविधिहरूमा लाग्न हुँदैन। नीतिगत स्थिरता राजनीतिक स्थिरतासँग जोडिन्छ र यो सरकारले स्थिरता कायम गर्नेछ।’
उनले व्यवसायीहरूलाई भाषणभन्दा काम गर्न उत्प्रेरित गर्दै अटोमोबाइल क्षेत्रलाई उद्योगसँग जोड्ने नीतिगत समर्थन गर्ने वचन पनि दिए। पौडेलले विद्युतीय सवारीसाधन (ईभी) लगायत सम्पूर्ण अटोमोबाइल क्षेत्रमा नतिजामा आधारित नीति निर्माण गरिने र सडक पूर्वाधारमा समयमै गुणस्तरीय काम गरिने पनि बताए। उनले निर्माण क्षेत्रको समस्या र अटो क्षेत्रमा देखिएका अन्य चुनौतीहरूको सामना गर्न सरकार दृढ रहेको उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अटोमोबाइल क्षेत्रलाई विलासी वस्तुको रूपमा परिभाषा नगर्न आग्रह गरे। उनले भने, ‘यो आवश्यक वस्तु हो। यस आधारमा नीति निर्माण गरिएमा राजस्व र रोजगारीमा थप योगदान पुग्छ।’ ढकालले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न पूर्वाधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रको सुस्त गतिका कारण अटोमोबाइल क्षेत्रमा पनि समस्या परेको बताए। उनले निर्माण र विकास क्षेत्रको संकुचनको असर अटो क्षेत्रमा परेको उल्लेख गर्दै बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रमा लगाइने करको दर धेरै भएको भन्दै त्यसलाई घटाउनुपर्ने माग गरे। उनले विद्युतीय सवारीसाधनका लागि पूर्वाधार निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
नाडाका अध्यक्ष करण चौधरीले उद्घाटन सत्रमा अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै आफ्नो भनाइ राखे। ‘हामी निकै पारदर्शी छौं र यो क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्न सरकारसँग सहकार्य आवश्यक छ,’ उनले भने। चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने र अवैध व्यापार रोक्नका लागि बोर्डर टाइट गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘अटोमोबाइल क्षेत्रलाई नीतिगत स्थिरता र दीर्घकालीन योजना आवश्यक छ। हाइब्रिड र इभी सवारीसाधनहरूको प्रवर्द्धनका लागि सरकारको स्थिर नीति अपरिहार्य छ।’
अटो शोले विभिन्न अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नयाँ उत्पादनहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ। यस वर्ष पनि विद्युतीय र हाइब्रिड सवारीसाधनहरूको प्रदर्शन विशेष आकर्षणको रूपमा रहेको छ।
प्रदर्शनीमा विभिन्न २३ ब्रान्डले नयाँ उत्पादन सार्वजनिक गर्ने भएका छन्। शोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्स लगायतको प्रदर्शनी हुनेछन्। यसपालिको नाडा अटो शोमा सबैभन्दा धेरै विद्युतीय गाडीको प्रदर्शनी हुने आयोजकले जनाएको छ।
चीनमा उत्पादित २२ लाखदेखि एक करोड रुपैयाँभन्दा माथिसम्मका विद्युतीय गाडी प्रदर्शनीमा रहनेछन्। नाडा अटो शोमा लाइट कमर्सियलका १३ स्टल रहनेछन्। यसैगरी बैंक, बिमा र डिजिटल वालेटका कम्पनीहरूका ११ वटा स्टल रहनेछन्।
हरेक वर्ष प्रदर्शनीमा रहँदै आएको अटो शोमा यसपालि भने विविधता रहेको आयोजकले जनाएको छ। प्रदर्शनीको विशेषतामा नेपालमै उत्पादित टायर, ब्याट्री र लुब्रिकेन्ट्सबारे जानकारी लिन सकिन्छ। प्रदर्शनीमा अटो कम्पोनेन्टका ३३ वटा स्टल रहनेछन्।
दुईपांग्रे सवारीका १९ ब्रान्ड प्रदर्शनीमा सहभागी छन्। योसँगै नेपालमै एसेम्बल गरिएका दुईपांग्रे सवारीसाधन पनि प्रदर्शन हुनेछन्। टाटा, हुन्डाई, नेटा, स्काइवेल, आइवन, सेरेस, दोङफेङ, लिपमोटर, रिडारा, किया, सिट्रोन, एक्स–पङ, अवतार, जिकर, दिपल, न्यू ईभी, सुजुकी, बीवाईडी, ओमोडा एन्ड जेकु, एमजी, हेनरी भोल्ट्स, बीएडब्लू र महिन्द्रा ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्न लागेका छन्।
प्रदर्शनीमा ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले १३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन्। टाटा ईभी प्रस्तुत नाडा अटो शो–२०२४ ले ६ दिनमा ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ। नाडा अटो शो यही भदौ १६ सम्म सञ्चालन हुनेछ।