कञ्चनपुर- रवि वडले नेपाल आइडलको उपाधि जितेको खुसियाली घरपरिवार संग बसेर मनाउन बाकी नै थियो। प्रदेश सरकारको निमन्त्रणामा समान तथा बधाई थाप्न सोमबार धनगढी पुगेका रवि कैलाली र कंचनपुरमा बधाई तथा सम्मान थाप्नमै व्यस्त भएका बेला आमाले छोडेर गएपछि घरपरिवार संगै बसेर खुसियाली साट्न नपाउदै बज्रपात आइलागेको छ।
बुधबार बेलुकी घरमा बसेर खुसियाली साट्ने योजना रविको थियो। तर एकाविहानै करेन्ट लागेर आमाको ज्यान गएपछि खुसिमा रमेको परिवार एकैछिनमा दुखमा डुबेको छ। जन्म दिने आमा त म ५ बर्षको हुँदै छोडेर जानू भयो, लालनपालन गर्ने यिनै आमा हुन उहाँले पनि आज छोड्नु भयो, रविले बिलौना पोखे।
रविले नेपाल आइडल जितेपछि हिजो सम्म घरपरिवारमा खुसि साट्न आउने छिमेकी आज आमाको मलाली बन्न घरमा जम्मा हुदा त्यहा पुग्ने सबैका आखा रसाएका थिए। रविका साना भाई बहिनीको लालनपालनकै लागि यिनले सन्तान नै नजन्माएर बसेकी हुन, छिमेकीहरु आपसमा कुरा गर्दै थिए। नेपाल आइडल जितेपछि पक्की घर लगाएर परिवार राख्न रविले ढुंगासमेत बोक्न सुरु गराईसकेका थिए , एक छिमेकीले भने दैव पनि कति सारै निष्ठुरी बनेको होला।

रविको परिवार काठको सानो झुपडीमा बस्दै आएको छ। आफ्नो घरको नल्कामा पानी नआएपछि पानी भर्न जेठाजुको घर गएकी ४५ वर्षीया बिश्नाको करेन्ट लागेर मृत्यु हो। रविको आफ्नो घरमा बिधुतको लाईनसमेत जोडेको छैन। आमा बिधुतको लाईन बारे पनि केही थाहा पाउनु हुदैन थियो रविले भने कसरी यस्तो अवस्था आईलाग्यो।
भारतमा नोकरी गरिरहेका बुबालाई केही समयपछि घर बोलाएर नया घर लगाउने सोच रविको थियो। नेपाल आइडल उपाधि जितेवाफत पाएको कार नलगेर त्यसवाफत नगदै रकम लग्ने निर्णय गरिसकेका रविले त्यो पैसाबाट नया पक्कि घर लगाएर बाबू आमा र भाईबहिनीलाई राख्ने योजना थियो। रविको नया घर नबन्दै आमाले छोडेर गइन्।
रविको आमाको बुधबार नै स्थानीय गोदावरी नदिमा दाहासस्कार गरिएको छ। भारतको सुरतमा रहेका उनका बुबा भने शुक्रबार मात्र घर पुग्नेछन्। छोरासंगै बसेर खुसियाली साट्ने उनका बुबाको सपना पनि तुहिएको छ। छोराको त्यो सफल्ताको खुसि साट्न नपाउदै दोस्रो पटक पत्नि बियोगमा परेका छन्। रविका ३ दाजुभाई र २ दिदिबहिनी छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४