मानसिक रोगको सिकार जो पनि हुनसक्छ। यसको मात्रा फरक हुनसक्छ। यो रोगको कुनै निश्चित कारण हुँदैन। वंशाणुगत, वातवरणीय असर, कामको बोझ, सम्बन्धमा आएको अनेकौं समस्याका कारण डिप्रेसन देखापर्छ।
सामाजिक र जीवनमा आइपर्ने विभिन्न समस्या, अशान्ति वा मनले चिताएको काम पूरा नभएको अवस्थामा मानिसको दिमागमा असर पर्नसक्छ। मानसिक रोग सबै एकै प्रकारको हुँदैन। डिप्रेसन मानसिक रोगको एक प्रकार हो। र डिप्रेसनभित्र पनि धेरै प्रकार हुन्छ। त्यसमध्ये विन्टर डिप्रेसन एक हो।
विन्टर डिप्रेसन विशेषगरी चिसो मौसममा हुनेगर्छ। गर्मी मौसममा विन्टर डिप्रेसन हुँदैन। यसलाई सिजनल डिप्रेसन भनिन्छ भने मेडिकल भाषामा एफेक्टिभ डिसअर्डर पनि भनिन्छ।
मौसम परिवर्तन भएलगत्तै हुने डिप्रेसनलाई सिजनल डिप्रेसन भनिन्छ। जुन गर्मी मौसममा नभई जाडो मौसममा मात्र हुन्छ। मानिसको मन एकैनासको हुँदैन। हरेक स–साना कुराले मानिसको दिमागमा प्रभाव पर्छ। मौसम परिवर्तन भएजस्तै मानिसको मन पनि परिवर्तन भइरहन्छ। कहिले दुःख, कहिले हाँसो र कहिले खुसी। जीवनको चक्रसँगै मानिसको मन पनि घुमिरहेको हुन्छ।
किन हुन्छ विन्टर डिप्रेसन ?
जाडो मौसममा दिन छोटो र रात लामो हुन्छ। जस कारण धेरै समयसम्म घामको प्रकाशबाट टाढा बसिन्छ। व्यस्तताले भरिएको जीवनमा जाडोमा चिसोबाट बच्न सबैले अनेकौं उपाय अपनाउने गर्छन्। ग्यास हिटर, बाक्लो कपडा र तातो जुत्ताको प्रयोग गर्छौं। तर सूर्यको किरणले दिने तातो र अन्य हिटर वा कपडाबाट लिने तातोमा धेरै फरक हुन्छ।
जाडोमा सूर्यको किरण खासै पर्दैन। शरीरमा पाइने सेरोटोनिन हर्मोन घामको प्रकाश शरीरमा पर्दा मात्र पाउन सकिन्छ। घामको आवश्यक किरण शरीरले नपाउनाले न्युरो केमिकल सेरोटिनिनको प्रयोग कम हुने गर्छ। न्युरो केमिकल सेरोटिनिनको कमीले विन्टर डिप्रेसन हुन्छ।
जाडोयाम सुरु हुनेबित्तिकै अल्छी लाग्ने, काममा जाँगर नलाग्ने, शरीर कमजोर हुने र थाक्ने, निराश हुने, बढी खाना खान मन लाग्ने, वढी निद्रा लाग्ने र घाम प्यारो लाग्ने जस्ता बानी जाडोमौसममा सबैले गर्छन्। यी समस्या जाडो मौसममा मानिसले गर्ने सामान्य समस्या हो। तर यसलाई डिप्रेसन भन्न मिल्दैन।
जाडोमा बादल लाग्ने, कुहिरो लाग्ने र घामबाट टाढा बस्न बाध्य हुने समस्या हुनेगर्छ। मानिसको शरीरले रातको समयमा मेलाटोनिन भन्ने हार्मोन उत्पादन गर्छ। यो हर्मोनले बढी निद्रा लगाउँछ। जाडो मौसममा यो सामान्य मानिन्छ। तर जो रागी हुन्छन्, उनीहरुलाई अझै बढी प्रभाव पार्छ।
विन्टर डिप्रेसन महिला, बालबालिका र बूढापाकामा बढी हुन्छ। सामान्य अरु मानिसलाई भन्दा यस्ता व्यक्तिलाई घामको किरण बढी आवश्यक पर्छ। विशेषगरी युरोपेली देशहरुमा यो समस्या बढ्ने क्रममा छ। ६ महिना दिन र ५ महिना रात हुने मुलुकमा विन्टर डिप्रेसन बढी हुने गरेको छ।
तथ्यांकअनुसार नेपालको इलाममा आत्महत्या गर्नेको संख्या बढ्ने क्रम छ। मनोविद् गोपाल ढकालका अनुसार त्यहाँका मानिसले आत्महत्या गर्नुको कारण विन्टर डिप्रेसन पनि हुनसक्छ। धेरै बादल लाग्ने, जाडो हुने, बर्खामा पनि कुहिरो लाग्ने समस्याले त्यहाँका मानिसलाई सताउने गरेको छ। उनी भन्छन्, ‘धुम्म मौसमले मनमा निराशा र उदासीनता बढाउँछ। जब घाम लाग्छ, दिन रमाइलो बन्छ ।’
विन्टर डिप्रेसनका लक्षण
मन उदास र दुःखी हुनु, खुसी बन्न नसक्नु, झर्को लाग्नु, रुन मन लाग्नु र कुनै पनि कुरामा ध्यान नहुनु यसका लक्षण हुन्। जाडो मौसममा यी लक्षणहरु दुई हप्ताभन्दा बढी लगातार देखिएमा विन्टर डिप्रेसन भएको भन्ने बुभ्नुपर्छ।
डिप्रेसन हुँदा निद्रा नलाग्ने, खान मन नलाग्ने, तौल घट्ने जस्ता असामान्य लक्षण देखापर्छन्। तर विन्टर डिप्रेसन हुँदा यसको उल्टो हुन्छ। विन्टर डिप्रेसनमा निद्रा बढी लाग्ने, धेरै खाना रुच्ने, तौल बढ्ने जस्ता लक्षण देखापर्छन्।
मनोविद् ढकाल भन्छन्, ‘डिप्रेसनमा मानिसले शारीरिक हेरचाहमा ध्यान दिँदैनन्। शरीर थाक्नु र ऊर्जा नभएको जस्तो महसुस हुने समस्याले नकारात्मक असर पर्छ र आत्महत्यासम्म पुर्याउँछ।’
विन्टर डिप्रेसन भएमा घाम लाग्ने ठाउँमा बस्नुपर्छ। नेपाली समाजमा घाममा बस्ने, तेल लगाउने, सुन्तला र बदाम खाने, चिसोमा पिकनिक जाने, नाच्ने र गाउने चलन छ। यस्ता क्रियाकलापले सेरोटिन उत्पादन गर्छ। ओमेगा ३ भएको खानेकुरा खानुपर्छ। माछा र आलसमा ओमेगा ३ को मात्रा धेरै हुन्छ। विन्टर डिप्रेसनका रोगीलाई कृत्रिम ताप दिएर लाइट थेरापी दिने गरिन्छ। विदेशमा यो लाइटको प्रयोग गर्दै थेरापी दिइन्छ। जसले घामले जस्तै तातो किरण दिन्छ। तर कोठामा बसेर हिटर ताप्दैमा र तातो लुगा लगाउँदैआ यो समस्यबाट बच्न सकिन्न।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा कुल जनसंख्याको २५ प्रतिशत मानसिक रोगी छन्। ४५ करोड मानिसमा मानसिक समस्या छ भने ३५ करोडमा डिप्रेसन छ। मानसिक रोगकै कारण विश्वमा प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्छन्।
नेपालमा प्रत्येक वर्ष पाँच हजारभन्दा बढी मानिसले आत्महत्या गर्छन् भने प्रत्येक दिन १२–१५ जनाले आत्महत्या गर्छन्। यीमध्ये ९० प्रतिशतले मानसिक रोगका कारण आत्महत्या गर्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४