सोमबार, साउन ११, २०८३

अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चौतारा- सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । 

वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो । विभागका अनुसार उक्त वृक्ष म्याग्नोसिएसी परिवारको भएको र आसामी भाषामा रक्तमुल भनिने गरेको वनविज्ञ नरेन्द्र पराशरले जानकारी दिए । 

उनका अनुसार यो वृक्षको उचाइ २० मिटर हुने र गुदीदार फल लाग्ने हुँदा चराहरूले मन पराएर खाने गर्दछन् । उक्त वृक्ष पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडी क्षेत्रमा पाइए पनि हालसम्म सीमितरूपमा मात्र उपलब्ध छन् । उक्त वृक्षको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने विशेषता छ । 

त्यसको फल सुपारी आकारको हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भाग काँचो नरिवलको स्वादको हुन्छ । खाँदा मीठो लागेपनि एक/दुई दानासम्म खाँदा केही नहुने र त्योभन्दा बढी खाए रिँगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लाग्ने र विरामी पर्ने वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताए। 

विसं २०५२ मा सामुदायिक वन उपभोक्ता समिति गठन हुनु अगाडी देखिनै त्यहाँ सो वृक्ष रहेको थापाको भनाइ छ । करीब चार मिटर गोलाइको उक्त वृक्ष हाल ८०/९० को सङ्ख्यामा रहेको थापाको भनाइ छ । 

कसैले रामवुआ र कसैले रावुआ जस्ता भिन्नभिन्न नामबाट पुकारिने उक्त वृक्षको काठदाउरा स्थानीय कसैले पनि प्रयोगमा ल्याउने गरेका छैनन् । केही वर्षअघि एक स्थानीयले काठदाउरा प्रयोग गरेका र संयोगवश उनले परिवारका दुई सदस्यलाई गुमाउनुपरेपछि स्थानीयले त्यसैलाई दोषी मान्न थालेका छन् । वृक्षको नाममा भगवान् रामको नाम जोेडिएकाले अनिष्ट हुने आशङ्कामा कसैले प्रयोग नगरेको अध्यक्ष थापा बताउँछन्।

वृक्षमा लाग्ने फल जेठको पहिलो सातादेखि फल्न सुरु भई असारको पहिलो सातासम्म रहने र त्यस पछि फुटेर झर्ने गर्दछ । गुदीदार फल भएकोले चराचुरुङ्गी र बाँदरले बढी रुचाउने गर्दछन् । त्यसको पात सिउँडी आकारको हुने र चौपायाले समेत नरुचाउने स्थानीयको भनाइ छ । 

उक्त वुक्षको फललाई यस वर्षदेखि चौताराको पातलेपानी वन नर्सरीमा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत तुलाराम घिमिरेले बताए। उक्त वृक्षबाट निस्कने रक्त पदार्थको गहनरूपमा अनुसन्धान हुनसकेको खण्डमा औषधिका रूपमा प्रयोग हुनसक्ने सम्भावना देखिएको अधिकृत पराशरले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।