काठमाडौं- १२ दिनदेखिजारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् ।
बिहान साढे आठ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको छ । बैठकमा अध्यक्षहरुले सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिइरहेको पार्टी कार्यालयले जनाएको छ ।
बैठक करिब ६ महिनापछि गत मंसिर २९ गतेबाट सुरू भएको थियो । ४५ सदस्यीय स्थायी समितिमा बोल्ने अधिकांश नेताहरु नेतृत्वको आलोचना गरेका थिए । पार्टी एकतालाई चाडो टुङ्ग्याउन र सबै सदस्यहरुलाई जिम्मेवारी दिन नेतृत्व चुकेको अधिकांशको आरोप छ ।
केहि सदस्यहरुले दुई तिहाई मतसहितको सरकार भए पनि जनताले महशुस गर्ने गरि काम गर्न नसकेको, पार्टीलाई पनि भद्रगोल बनाएको, गुटको संरक्षण गरेको आरोप लगाएका थिए । केहि नेताहरुले भने मन्त्रिपरिषद् नै पुर्नगठन गर्नु पर्ने आवाज उठाएका थिए । अहिलेका मन्त्रीहरुले प्रभावकारी रुपमा काम गर्न नसकेकोले फिर्ता बोलाउनु पर्ने उनीहरुको भनाई थियो ।
बैठकमा अध्यक्षद्वयले २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश थिए।
अध्यक्षको प्रतिवेदनप्रति असहमति जनाउँदै नेता वामदेव गौतमले १६ पृष्ठ लामो फरक मतसहितको प्रतिवेदन पेश गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४