काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ११ औं चरणका खेलहरु बुधबारबाट सुरु हुँदैछ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
उक्त खेल बिहान ११ बजे सुरु हुनेछ । यस्तै अपरान्ह २:३० मा हुने खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यही समय हल्चोकमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै बिहिबार दुई खेल हुँदै छन् । बिहिबार एन्फा कम्प्लेकसमा बिहान ११ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको पँचौ स्थानमा रहेको एपिएफ आठौं स्थानमा रहेको च्यासललाई पराजित गर्दै आफ्नो अंक तालिकामा सुधार गर्ने योजनामा हुने छ । च्यासल पनि एपीएफलाई पराजित गर्दै अंक जोड्ने दाउँमा छ ।
एपिएफको ५ खेलमा जित, १ खेलमा बराबरी र चार खेलमा हार सहित १६ अंक जोडेको छ । यता च्यासलले भने समान ४ खेलमा जित र हार तथा दुई खेलमा बरारी खेल्दै १४ अंक जोडेको छ ।
दिउँसो २ः३० बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो दुईबिचको खेल लिगको महत्वपूर्ण खेलको रुपमा हेरिएको छ । यसै खेलले उपाधिको छिनोफानो हुने देखिएको छ ।
किनकी लिगको उपाधि होडमा अहिले संकटा र मनाङ मात्र देखिएको छ । मनाङले संकटालाई हराएमा उपाधि मनाङको पोल्टामा जानेछ । मनाङ पराजित भएमा उपाधि होड खुल्ला रहनेछ । त्यसैले संकटा र मनाङबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
लिगमा मनाङ १० खेलसम्म अपराजित छ । लिगको तीन खेल बाँकी रहदा मनाङले १० खेलबाट अपराजित रहदै ३० अंक जोडेको छ । शीर्ष स्थानको मनाङ दोस्रो स्थानको संकटा फुटबल क्लबभन्दा ५ अंकले अघि छ । संकटाको १० खेलबाट २५ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४