मंगलबार, माघ १, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मिथिलामा राखीको रौनक

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ।
 |  शनिबार, भदौ १, २०८१

गोपालप्राद बराल

गोपालप्राद बराल

शनिबार, भदौ १, २०८१

ntc landingntc landing

साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ। साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिनदेखि नै राखी गीत गुञ्जिरहेका छन्। 
‘आबन हे सखी, आयल साउनक पूर्णिमा, 
भैयाके अबैय याद हे, 
भैया नई ऐलौं, निष्ठुर भेला, 
निरस भगेल हमर पावन हे !’
(यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्झना आइरहेछ। तर दाजुभाइ भने आउने सोधखबर गर्दैनन्, पर्व मेरा लागि निरस हुनेभयो) मिथिलामा अहिले सुनिने धेरैजसो गीत राखी केन्द्रित छन्। 
‘आयल साउनक सुदिन यौ भैया, 
राखीमें जरुर अबै यौ, 
राखीक पावेन अलै यौं भैया, 

कोनाक गेली बिसैर यौ !’ (साउनको त्यो सुदिन पनि नजिकियो, दाजु राखीमा अवश्य आउनु होला है, राखी पर्व आइसक्यो, तपाईंले कसरी बिर्सन सक्नुभएको ?)। कुनै गीतमा पर्व नजिकिएसँगै दाजुभाइ सम्पर्कमा नआएका दिदीबहिनीको विरह छ भने कतिमा अब दाजुभाइ चाँडै भेट हुने अभिलाषा व्यक्त्याइएको छ। 
‘आयल राखीक त्यौहार , 
भाइ हमर लाओत बहार, 
बध्बै भाइके प्रेमक डोरा स, 
होतै सुखक इजहार ....!’
(राखी पर्व आयो, अब मेरो भाइले खुसी दिनेछ, भाइलाई प्रेमको डोराले बाँध्ने छु, यसले सुखानुभूति मिल्नेछ)। 

himalayan bank box

साउन शुक्ल पक्षलाई राखीपक्ष पनि भनिन्छ। मिथिलामा अहिले यस्तै गीत सुनिन्छन्। यसमा दाजुभाइको सौर्य बखान गरिएको हुन्छ।  प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी, साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन्। बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेलीबीच एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै अहिले राखीको तयारीबारे हुने गर्छ। मिथिलामा यसपालि पर्सि सोमबार राखी पर्व मनाउने तयारी छ।

मधेसको मिथिला क्षेत्र सांस्कृतिक चाडपर्वको उर्वर थलो हो। मैथिल (मिथिलाका बासिन्दा) सांस्कृतिक चाडपर्व धेरैजसो विद्यापति र मिथिला पञ्चाङ्गका आधारमा मनाउँछन्। यी दुबै पञ्चाङ्गको सुरु महिना साउन हो। अर्थात् वर्षको पहिलो महिना साउन लागेदेखि नै विभिन्न चाडपर्व मनाउँदै आएका मैथिल अहिले साउन महिनाको अन्त्यतिर राखी पर्वको तयारीमा छन्। साउनमै शिवभक्तिको साउने मेला, लगपाँच र मधुश्रावणीजस्ता पर्व मैथिलले मनाइसकेका छन्। अहिले झुला पर्व जारी छ। यो राखी पूर्णिमाकै राति समापन गरिने परम्परा छ। 

सौरमासले साउन सकिए पनि चन्द्रमास गणनाले आउने सोमबारसम्म साउन नै रहन्छ। यहाँ जुडशीतल, विश्वकर्मा पूजा र तिलासक्रायतलगायत केही पर्वबाहेक धेरैजसो चन्द्रमास तालिकामै मनाइने गरिन्छ। यसपालिको राखी पर्वको दिन साउन (चन्द्रमासअनुसार)को अन्तिम दिन परेको हुँदा साउने सोमबारीको समापन पनि त्यसै दिन गरिनेछ।  

मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै राखीको चहलपहल बढ्न थाल्छ। चिया पसल, पान पसलदेखि ठूल्ठूला व्यापारिक प्रतिष्ठान र चोकचोकमा राखी गीत गुञ्जँदा छन्। सबै ठाउँमा  दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने यो पर्वको चहलपहल देखिँदो छ। पर्वको तयारीले अहिले मिथिलाक्षेत्र राखीमय बनेको छ।

अहिले पर्व आउन दुई दिनमात्र बाँकी छँदा मिथिलानी (मिथिलाका नारी) आफ्ना दाजुभाइसँग पर्व विशेषको भेटघाटको टुङ्गो गर्न मोवाइल र फोनको कुराकानीमा व्यस्त देखिन्छन्। ‘पावैन त आब आयबगेल, मद्रासमें रहल भाइके खबर कैली, ओ अइबेर आओत’ (पर्व त अब आई नै हाल्यो, मद्रासमा रहेको भाइलाई खबर गरे, ऊ यसपालि आउँछ रे) महोत्तरीको भङ्गाहा–५ राजपुरकी हरिप्रिया महतो खुसी हुँदै भन्छिन्, ‘आब भाइके पहनाववाला राखी आ मरमिठाई जुटेवाक तयारीमे लागल छी’ (अब भाइलाई बाँधिने राखी र उसलाई ख्वाइने मरमिठाईको जोरजाममा लागेकी छु)। 

मिथिलामा विवाहित चेलीले आफ्नो अनुकूलताअनुसार घरमै दाजुभाइ बोलाएर वा माइत गएर राखी मनाउन सक्ने चलन छ। त्यसैगरी, अविवाहित चेलीबेटी पनि दाजुभाइलाई राखीको निम्ता दिँदै इच्छित दक्षिणा पाउनपर्ने ठट्टा मिसाउँदै भेटिन्छन्। पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिँदो छ।  

मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन्। पर्वले दिदीबहिनीप्रतिको चाहना र प्रेम गाढा बनाउने बर्दिबास–२ का बासिन्दा महेशकुमार झा बताउनुहुन्छ। साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिलाक्षेत्रका सिनेमा घरहरुले पर्वविशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी यस्तै कथावस्तुका सिनेमा चलाउँदैछन्। चोकचोक र हाटबजारमा गुञ्जेका राखी पर्वका गीतमा बटुवा पनि झुम्ने गरेका देखिँदो छ। 

दिदीबहिनी अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्टान्न परिकारबारे योजना बुन्दैछन्। यसैगरी, दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सदको चाँजो र उनीहरुलाई दिइने दक्षिणाको जोरजाममा लागेका छन्। घरबाट कामविशेषले टाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले  दिदीबहिनीलाई फुरुङ्ग बनाएको छ। ‘भैया दिल्ली स पावैनलेल ऐवाक निश्चित भेल’ (दाजु राखी पर्वका लागि दिल्लीबाट आउने कुरा निश्चित भयो) गौशाला–४ की पवित्री सदा भन्छिन्, ‘अइबेर खुसी स राखी पावैन मनायब’ (यसपालि हाँसीखुसी पर्व मनाइन्छ)।

पर्वमा राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त देखिँदा छन्। ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारी बताउँछन्। पर्व अब केही दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न खालका राखीको माग र आपूर्तिका कामले फुर्सद नभएको बर्दिवासचोकका शृङ्गार महलका व्यापारी श्यामकुमार महतो बताउँछन्।          
अघि सत्य युगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा वलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने चलन बसेको मैथिल जनविश्वास छ। 

पर्वविशेषमा यसअघि केही मनोमालिन्य भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीचबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको बर्दिबास जनता बहुमुखी क्याम्सका प्राचार्य तेजबहादुर खड्का बताउँछन्। पर्वमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको मैथिल बताउँछन्। पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन यहाँ अझै देखिन्छ। 

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु छ। विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बी भित्र पनि बाक्लै प्रचलनमा आएको छ। पर्वते र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफूले दाजुभाइ मानेकाहरुलाई राखी बाँधी दिन पर्वको तयारीमा लागेका छन्।

पछिल्ला दिनहरुमा पर्व हिन्दू धर्मावलम्बीको मानिँदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरुले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने गरेबाट यो पर्व अब मिथिलाक्षेत्रको साझा पर्व बनेको छ। यसले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव वृद्धिमा सहयोग पुग्ने महोत्तरीकै सम्सी–६ का इस्लाम धर्मावलम्बी सामाजिक कार्यकर्ता इम्तियाज अहमद बताउँछन्।   -रासस

प्रकाशित: Aug 17, 2024| 16:33 शनिबार, भदौ १, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्