चितवन- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐन कानुन बनाउँदा आइएनजिओले दुख दिने गरेको बताएका छन्। भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित जानकी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले देश गरिब भएकोले विभिन्न एनजिओ तथा आइएनजिओले ऐन कानुन बनाउँदा दुख दिने गरेको बताएका हुन्।
उनले भने, 'देश गरिब भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले पनि ऐनकानुन बनाउँखा ससाना बखेडा झिकेर दुःख दिने गरेका छन्।' माडीको पुल निर्माणमा युनेस्कोको अवरोध देखिएको भन्ने कुरामा टिप्पणी गर्दै प्रचण्डले यसो बताएका हुन्।
उनले देश गरिब भएपछि सबैले हेप्ने गरेको बताएका हुन्। अध्यक्षले आगामी चार वर्षमा चितवनका सबै बाटोहरू पक्की गरिने प्रतिबद्धतासमेत व्यक्त गरे। देशभरिकै अव्यवस्थित बसोबासको समस्या हल गर्न पहल भइरहेको समेत उनले बताए।
आफ्नो संक्षिप्त सम्बोधनका क्रममा वडा नम्बर २७ मा पेतली खोलाको पुल निर्माणमा समेत आफ्नो भूमिका रहने प्रतिबद्धता समेत व्यक्त गरे। त्यस्तै प्रचण्डले शिक्षा स्वास्थ्य र रोजगारीको क्षेत्रमा उल्लेख्य प्रगति हुने आशा समेत व्यक्त गरे।
त्यस्तै अध्यक्ष प्रचण्डले नारायणी र राप्तीको किनारमा तटबन्ध सहितको रिङरोडको लागि डीपीआर बनाउने बहुवर्षीय योजनामा पारिनु ठुलो उपलब्धिहरू रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४