सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीको त्यो गाउँ जसले दियो प्रदेश प्रमुखदेखि सर्वोच्चका न्यायाधीश

महोत्तरीको त्यो गाउँ जसले दियो प्रदेश प्रमुखदेखि सर्वोच्चका न्यायाधीश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- समावेशिताको सिद्धान्त लागू हुनुपूर्व सरकारी सेवामा मधेसी समुदायको पहुँच कमै संख्यामा पाइन्थ्यो । २०६२/०६३ को तेस्रो जनआन्दोलन र मधेस आन्दोलनपछि मधेसी समुदायको पनि पहुँच हुन थाल्यो नेपालको सरकारी सेवामा । तर, महोत्तरीको सुगा भवानीपट्टीले कहिल्यै आरक्षण वा कोटाको बाटो कुरेन । कोटा प्रणाली नहुँदा पनि सरकारी सेवाको उच्च ओहदासम्म पुग्न सफल भयो ।

तत्कालीन सुगा भवानीपट्टी गाविस अहिले जलेश्वर नगरपालिकामा गाभिएको छ । महोत्तरी सदरमुकाम जलेश्वरबाट एक डेढ किलोमिटर पूर्वमा छ सुगा भवानीपट्टी । सुगा भवानीपट्टीलाई बोलचालको भाषामा सुगा गाउँ भन्ने गरिन्छ ।

मुलुकको हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको छ सुगा गाउँले । राणा शासनविरुद्धको क्रान्तिदेखि पञ्चायती शासन अन्त्य गर्न भएका हरेक आन्दोलनमा सुगा गाउँले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

त्यहाँका बासिन्दा शैक्षिक क्षेत्रमा कहिल्यै पछाडि परेनन् । राणाकालमा नेपालमा अध्ययन गर्न सहज नभएका बेला छिमेकी भारतमै पुगेर भए पनि पढाइ लेखाइ गर्नेको संख्या कम थिएन । 
उच्च ओहदामा पुग्ने त्यहाँका बासिन्दाका लगनकै कारण डाक्टर इन्जिनियरको गाउँले पनि परिचित छ सुगा गाउँ । सरकारी कागजमा गाउँ पञ्चायत वा गाउँ विकास समिति रहे पनि शिक्षा र विकासप्रति सधैं जागरुक रह्यो त्यो गाउँ ।

शिक्षाप्रतिको लगनकै कारणले होला त्यहाँका कतिपय स्थानीय मुलुकको विभिन्न निकायमा उच्च ओहदामा पुग्न सफल पनि भएका छन् । सुगा गाउँले प्रदेश प्रमुखदेखि सर्वोच्च अदालतका न्यायधीश, सांसद, नेपाल सरकारका सहसचिव, प्रख्यात राजनीतिक विश्लेषक उत्पादन गर्न सफल भएको छ । 

प्रदेश २ लाई प्रदेश प्रमुख दिने सौभाग्य पनि अहिले सुगा गाउँले पाएको छ । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ सुगाका बासिन्दा हुन् । सानै उमेरदेखि पढाइलेखाइप्रति रुचि राख्ने कायस्थ इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गर्दै जलस्रोत मन्त्रालयका सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । सरकारी सेवाबाट अवकाश पाइसकेपछि राजनीतिमा प्रवेश गरेका कायस्थ मुलुक संघीय संरचनामा प्रवेश गरिसकेपछि अहिले प्रदेश प्रमुखको भूमिकामा छन् ।

यसैगरी गिरीशचन्द्र लाल न्यायालय क्षेत्रका चर्चित नाम हुन् । सर्वोच्च अदालतको न्यायाधीशबाट अवकाश पाएका लालको पनि पैतृक गाउँ सुगा नै हो । जनकपुरबाट कानुन व्यवसायीका रूपमा आफ्नो पेसा सुरु गरेका लाल वरिष्ठ अधिवक्ता हुँदै सर्वोच्च अदालतका न्यायधीश बने । 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष वृषेशचन्द्र लाल पनि सुगाकै बासिन्दा हुन् । राजपा उपाध्यक्ष लाल अहिले राष्ट्रसभामा सांसद छन् । यसैगरी इन्जिनियर पेसा त्यागेर पत्राकारिता क्षेत्रमा प्रवेश गरेर राजनीतिक विश्लेषकका रुपमा ख्याती कमाउन सफल भएका सिके लाल पनि सुगावासी हुन् ।

यी पुराना पुस्ताबाहेक नयाँ पुस्ताका युवाले सरकारी सेवा क्षेत्रमा ख्याति कमाउन सफल भइसकेका छन् । कृष्णहरि पुष्कर निजामती सेवा क्षेत्रमा चर्चित नाम हुन् । आफ्नो जीवनमा विभिन्न आरोह अवरोह पार गर्दै कलिलै उमेरमा नेपाल सरकारको सहसचिव बन्ने अवसर पाएका छन् पुष्करले । खरिदारबाट निजामती सेवामा प्रवेश गरेका उनी बारा र मकवानपुरमा सिडिओ भएर जिल्ला चलाइ सकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताका जिम्मेवारीसमेत सम्हालिसकेका छन् पुष्करले । उनी अहिले नयाँ दिल्लीस्थित नेपाल दूतावासमा कार्यरत छन् ।

सरकारी सेवामा पुष्करको प्रवेशले सुगाका युवापुस्तामा लोकसेवाप्रति आकर्षण बढायो । सरकारी सेवामा पुष्करले प्रवेश पाइसकेपछि सबैभन्दा बढी प्रभावित गर्‍यो उनका चारजना भाइलाई । पुष्करका चारैजना भाइ पनि सरकारी सेवामा प्रवेश गरे । पुष्करका तीनजना भाइ अधिकृत छन् भने एक भाइ लेखापाल छन् ।

एकै परिवारका पाँचजना भाइ सरकारी सेवामा प्रवेश गरेर गाउँका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् । पुष्कर र उनका भाइहरुको सरकारी सेवामा प्रवेशलाई हेर्दै कतिपय युवाहरु लोकसेवाको तयारी गरी सरकारी जागिर खान सफल भइसकेका छन् । सरकारी सेवाबाहेक सुगाका कतिपय युवाहरुले वित्तीय, बिमा तथा निजी क्षेत्रमा समेत दख्खल जमाएका छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।