काठमाडाैं- संघीय संसदको हिउँदे अधिवेशन भोलि बुधबारबाट सुरु हुने भएको छ । पहिलो दिनको बैठक अपराह्न ४ बजे बस्ने गरि बोलाइएको छ ।
पहिलो दिनको बैठकमा तीनवटा कार्यसूची तय गरिएको छ । अधिवेशन आहवानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने, प्रशासकीय अदालत विधेयक टेबुल गरिने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गर्ने भएका छन् ।
संसद् सचिवालयका अनुसार सरकारका तर्फबाट चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता भइसकेका छन् । कर्मचारी समायोजन अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पारमाणविक तथा रेडियोधर्मी पदार्थ सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न विधेयक सरकारले दर्ता गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले हिउँदे अधिवेशनमा संसद्ले पर्याप्त बिजनेस पाउने बताए । संसद्मा विचाराधीन ११ वटा विधेयक रहेको, चारवटा नयाँ दर्ता भइसकेको भन्दै उनले संसद् सञ्चालनमा आएको पहिलो सातामै थप विधेयक दर्ता हुने जानकारी दिए ।
संविधानसँग बाझिएका कानुन आगामी फागुन २१ गतेबाट अमान्य हुने संवैधानिक व्यवस्थाका कारण सरकारले धेरै कानुनमा संशोधनको गृहकार्य गरिरहेको छ । संविधानको धारा ३०४ ले संविधानसँग बाझिएको कानुन संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षपछि बाझिएको हदसम्म स्वतः अमान्य हुने भनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४