शुक्रबार, पुस ४, २०८२

वीरगञ्ज नाकाबाट घट्यो हवाई इन्धन र ग्यास आयात

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

पर्सा- मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनमा कमी आएको छ। गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो।

National life

आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोग गरी ३३ अर्ब १३ करोड रूपैयाँ बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा ३० अर्ब रूपैयाँको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए। उनका अनुसार ११ हजार दुई सय ३८ मेट्रिकटन कम ग्यास अयात भएको हो।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोड रूपैयाँको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर हवाई इन्धन आयात भएकामा गत आवमा १८ अर्ब २१ करोड रूपैयाँको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ। 

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा संकुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए। वीरगञ्ज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उनले जानकारी दिए। 

आव २०७९/८० मा एक खर्ब १३ अर्ब ५८ करोड रूपैयाँको १० लाख ४० हजार पाँच सय छ केल डिजेल र ३८ अर्ब २४ करोड रूपैयाँको तीन लाख ८९ हजार सात सय ११ केल पेट्रोल आयात भएको उनले बताए।

Laxmi sunrise bank
kumari

गत आवमा एक खर्ब नौ अर्ब २९ करोड रूपैयाँको १० लाख ८३ हजार पाँच सय २० केल डिजेल र ३९ अर्ब दुई करोड रूपैयाँको तीन लाख ९४ हजार सात सय २३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए।

उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ। रासस

प्रकाशित: Aug 04, 2024| 19:01 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्