काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले फरक फरक विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले कालिकोटको खाँडागाउँको एउटा बस्ती पुरै जलेर खरानी भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले प्रदेशका मन्त्रीले पनि इन्धनमा दोहोरो सुविधा लिएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुर र नागरिक दैनिकले कालिकोटमा भएको आगलागीलाई मुख्य समाचार बनाएका छन् । नागरिकले कालिकोट खाँडागाउँमा ८७ घर जलेर नष्टः पीडित खुला आकाशमा शीर्षकमा खबर छापेको छ भने कान्तिपुरले ८७ घर खरानीः ७ घाइते, २८५ विस्थापित शीर्षकमा खबर लेखेको छ ।
कालिकोटको पलाँता गाँउपालिकाको खाँडागाउँमा भएको भीषण आगलागीका कारण ८७ घर जलेर नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्। आइतवार राती लागेको आगोले गाउँ नै नष्ट बनाएको हो। आइतवार राती १० बजेदेखि लागेको आगो सोमवार दिउँसो मात्रै नियन्त्रणमा आएको थियो ।
पानीको निकै अभाव हुने खाँडामा आगो नियन्त्रणमा लिन निकै कठिन भएको थियो। आगलागीका कारण स्थानीयका गोठमा बाँधिएका गाई, भैंसी र बाख्रा समेत मरेका छन् भने गाउँका ५ सय ४० जना स्थानीय खुला आकासमा बास बस्न बाध्य भएका छन्। आगलागीमा झण्डै ३ करोड बढीको धनमाल क्षति भएको स्थानीय प्रशासनले अनुमान गरेको छ। प्रदेश सरकारले उद्धार र राहत सामाग्री विरतणको काम सुरु गरेको आजका पत्रपत्रिकाले लेखेका छन् ।
यस्तै यो विषय बाहेक आजको कान्तिपुरले निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेकालाई प्रहरीले अत्याधिक यातना दिएकै कारण मानसिक समस्या देखापरेको खबर पनि महत्वका साथ छापेको छ । प्रहरी यातनाकै कारण केहिदिन पहिले छुटेका विशाल चौधरी उपचारका लागि अस्पताल भर्ना भएका छन् भने दिलिपसिंह विष्ट तीन महिनादेखि उपचाररत छन् ।
नागरिक दैनिकले भने मेलम्चीको काम बीचमै छाडेर हिडेको इटालियन ठेकेदार कम्पनी काममा फर्किने सहमति भएको विषयलाई महत्वका साथ छापेको छ । यस्तै उसले अख्तियारले जारी गरेको प्रतिवेदनअनुसार सबैभन्दा बढि भ्रष्टाचार शिक्षा क्षेत्र र स्थानीय तहमा भएको पाइएको विषलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।
यस्तै आजको नयाँ पत्रिकाले भने प्रदेशका मन्त्रीहरुले पनि इन्धनमा दोहोरो सुविधा लिने गरेको खुलासा गरेको छ । मुख्यमन्त्रीको कार्यालयबाट इन्धनको पैसा बुझ्ने र मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेको पाइएको छ । यो समस्या सातै प्रदेशमा देखिएको समाचारमा उल्लेख छ ।
प्रदेश २ का कतिपय मन्त्रीले केन्द्रका मन्त्रीले भन्दा धेरै सेवा सुविधा लिएको पाइएको छ । केन्द्रका मन्त्री सबै खर्च गरेर २ लाख ३२ हजार पाउने गरेका छन् भने प्रदेश २ का मन्त्रीले २ लाख ८६ हजार लिने गरेको नयाँ पत्रिकाले लेखेको छ ।
केन्द्रीय मन्त्रीको पारिश्रमिक र सचिवालय खर्च दुई लाख ३२ हजार, प्रदेश २ मा मन्त्रीको खर्च दुई लाख ८६ हजार
नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार प्रदेश २ मा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई तलब तथा विभिन्न शीर्षकको भत्ता र इन्धन सुविधा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराउँदै आएको छ । तर, मन्त्री र राज्यमन्त्रीहरूले आफ्ना मन्त्रालयबाट पनि इन्धनसहितको थप सुविधा लिने गरेका छन् ।
मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐनअनुसार मुख्यमन्त्रीले मासिक ३०० लिटर, मन्त्रीले २५० लिटर र राज्यमन्त्रीले २२५ लिटर इन्धन प्रयोग गर्न सक्ने व्यवस्था छ । यस्तै, तीन–तीन महिनामा गाडीमा हाल्न १० लिटर मोबिल पाउँछन् । तर, मन्त्री र राज्यमन्त्रीहरूले आफ्ना मन्त्रालयबाट पनि इन्धन, मोबिल शीर्षकमा सुविधा लिने गरेका छन् । उनीहरूले आफ्नो मन्त्रालयबाट १५० देखि २५० लिटरसम्म इन्धनको कुपन लिन्छन् ।
मन्त्रीको आवासका लागि आवश्यक सामानसमेत मन्त्रालयबाट किनिएको छ । मन्त्री आवासमा फ्रिज, वासिङ मेसिन, हिटर, टिभी, टाबेल र चप्पलसमेतको बिल भुक्तानी मन्त्रालयबाट भएको छ । उता, मन्त्रीको अतिथि सत्कार, सञ्चार भत्ता, धारा–बिजुलीलगायतका सुविधाबापतको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तलबसँगै भुक्तानी गर्छ । यसरी प्रदेश २ का मन्त्रीका लागि सरकारले मासिक दुई लाख ८६ हजार ८७० रुपैयाँ भुक्तानी गर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४