जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुले कार्यालयले डाकेको बोर्ड बैठक बहिष्कार गरेका छन्। सोमबार तीनबजे उपमहानगरपालिका कार्यालयमा बोलाइएको बोर्ड बैठक अधिकांश वडाअध्यक्षहरुले बहिष्कार गरेका हुन्।
एजेन्डाबारे जानकारी नदिई बैठक बोलाइएको र एक घण्टासम्म कुर्दापनि नगर प्रमुख उपस्थित नभएपछि आफूहरु बैठक बहिष्कार गरेर कार्यालयबाट निस्केको उनीहरुले बताएका छन्। बैठक बहिष्कार गर्नेहरुमा नेपाली कांग्रेससहित अधिकांश राजपाबाट निर्वाचित वडाअध्यक्षहरु छन्।
बैठक बहिष्कार गरेर उपमहानगर कार्यालय नजिकै रहेको शिव चोकमा भेला भएका उनीहरुले आफूहरुसँग अपमानजनक व्यवहार भएको प्रतिक्रिया दिएका छन्। उपमहानगरपालिका अन्तर्गत रहेको २५ वडा मध्ये १२ जना वडाअध्यक्षले बैठक बहिष्कार गरेको र तीनजना अनुपस्थित रहेको उनीहरुले बताएका छन्।
राजपाबाट निर्वाचित वडा नम्बर २० का अध्यक्ष भोगेन्द्र झाले भने,‘एक त आफूहरुलाई टेलिफोनबाट बैठकबारे जानकारी गराइन्छ । तीन बजे बोलाइएको बैठक चार बजेसम्म प्रमुखज्यू लगायतका व्यक्ति नपुगेपछि हामीले बहिष्कार गरेका हौं।’ फोन गरेर बैठकबारे जानकारी गराएको उपमहानगरपालिकाका कर्मचारीले एजेन्डाबारे केहि नबताएको उनको भनाइ थियो।
वडा नम्बर १ का वडाअध्यक्ष शत्रुध्न साहले मौखिक जानकारी पाएपनि बैठकको लागि पुगेको । तर एक घण्टा कुर्दासमेत बैठक सुरु नभएपछि बहिष्कार गरेर बाहिरिएको बताए। २४ घण्टापूर्व बैठकबारे लिखित जानकारी दिइनुपर्ने सहमति रहेपनि सोमबारको बैठकबारे एकजना कर्मचारीले टेलिफोन गरेर जानकारी गराएको उनले बताए।
‘उपमहानगरपालिकाले हामीलाई केहि जानकारी दिन चाहेको छैन,’ वडाअध्यक्ष साहले भने,‘हामी पनि जनताको मत पाएर निर्वाचित भएका हौं। जनतलाई जबाफ दिनुपर्ने हुन्छ । तर, हामीसँग गाई गोरु झैं व्यवहार गरिएको छ।’
वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बोर्ड बैठकबारे पत्रमार्फत जानकारी गराउने निर्णय सुरुमै बोर्ड बैठकले गरिसकेको बताउँदै प्रावधान पुरा नभएकोले बहिष्कार गरेको उल्लेख गरे।
यता उपमहानगरपालिकाका उपमेयर रिता झाले पनि केहि वडाअध्यक्षहरुले बैठक बहिष्कार गरेको स्वीकार गरेकी छिन्। समयमा बैठक सुरु नभएको आक्रोशमो वडाअध्यक्षहरुले बैठक बहिष्कार गरेको आफूले पनि थाह पाएको उपमेयर झाले बताइन्।
वडाअध्यक्षहरुले बहिष्कार गरेपनि २० जना कार्यपालिका सदस्यहरुको उपस्थितिमा बैठक भएको उनले जानकारी दिएकी छिन्। बैठकले एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाको म्याद दुई महिना थपगर्न सम्बन्धीत निकायलाई आग्रह गर्ने निर्णय गरेको उपमेयर झाले बताएकी छिन्।
राजपाबाट निर्वाचित वडा नम्बर १ का शत्रुध्न साह, स्वतन्त्र भएर निर्वाचित वडा नम्बर २ का शिवकुमार साह, राजपाबाट निर्वाचित वडा नम्बर ४ का सुदर्शन सिंह, कांग्रेसबाट निर्वाचित वडा नम्बर ५ का मनोज साह, वडा नम्बर ९ का परमेश्वर साह र वडा नम्बर १० का मिथिलेश कर्ण, राजपाबाट निर्वाचित वडा नम्बर ११ का रामचन्द्र साह, कांग्रेसबाट निर्वाचित वडा नम्बर १२ का शत्रुध्न यादव, राजपाबाट निर्वाचित वडा नम्बर १६ का रामअशिष पंजियार, वडा नम्बर २० का भोगेन्द्र झा, कांग्रेसबाट निर्वाचित वडा नम्बर २३ का शत्रुध्न पाण्डेय र राजपाबाट निर्वाचित वडा नम्बर २४ का सत्यनारायण साहले बैठक बहिष्कार गरेको उनीहरुले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४