सुर्खेत- कालिकोटमा भएको भीषण आगलागीमा परि ४७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट पलाता गाउँपालिका वडा नं. १ को खाडा गाउँस्थित न्यौपानेबस्ती पुरै जलेर नस्ट भएको छ ।
प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार आगलागीबाट ८७ घरमा क्षति पुगेको छ । अहिलेसम्म आएको विवरणअनुसार आगलागीमा परि ११ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै रहेकी तलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेका अनुसार ६५ वर्षिय दिप न्यौपाने ६५ वर्षकै, लाल न्यौपाने, ५० वर्षिया औली न्यौपाने, ४२ वर्षिया चैती न्यौपाने र अन्य गम्भीर घाइते भएका छन् । आगो नियन्त्रणमा लिनेक्रममा अन्य ७ जना समान्य घाइते भएका छन् ।
आगलागीमा पारी सयौं पशु चौपाएको मृत्यु भएको छ । नविन न्यौपानेको र मेगी न्यौपानेको घरको विचभागबाट सुरु भएको आगोले बस्तीनै सखाप पारेको छ । खरले छाएका घरहरु भएकारण क्षणभरमै बस्तीनै आगो सल्कीएको उपाध्यक्ष न्यौपानेले जानकारी दिइन ।
करिव साढे २ बजेतिरबाट सुरुभएको नियन्त्रणमा लिएको छ । तर भौतिक क्षतिको एकिन विवरण भने आउने बाँकी रहेको छ । 'आगो नियन्त्रणमा आएपनि, घरको तल्लोतलाका केही भागहरुमा आगो बलिरहेको छ ।' उपाध्यक्षले भनिन् 'घाइतेलाई उपचारका लागि बाहिर लैजान समस्या भएको छ ।'
यता घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । आगलागी भएको ठाउँ सदरमुकामदेखि करिब ३२ कोष टाढा पर्दछ ।
पानी नहुँदा गाउँनै जल्यो
आगलागी भएको घटनास्थलमा पानीको अभावका कारण सिंगो बस्तीनै खरानीमा परिवर्तन भएको छ । उपाध्यक्षले दिएको जानकारी अनुसार न्यौपानेबस्ती एउटामात्रै खानेपानीको मुहान छ । 'पानीको अभावकै कारण समयमै आगो नियन्त्रणमा आएन ।' उपाध्यक्ष न्यौपानेले भनिन 'गाउँमा युवाहरु पनि छैनन्, प्रहरी चौकी टाढा छ ।'
आगलागीबाट घरमा रहेको अपडाहरु र अन्यपात जलेर नष्ट भएका छन् । 'के कति कारणले आगलागी भयोको हो थाहा भएन ।' न्यौपानेले थपिन 'केटाकेटी मोकले मर्न थाले राहत ल्याउ भनिदिनु पर्यो ।'
प्रदेश सरकारको राहत
यस्तै घटनाको जानकारी पाएलगतै कर्णाली प्रदेश सरकारले राहतको बन्दोबस्त गर्न सुरु गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रेस विज्ञप्ति जारी गर्दै स्वरुपप्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले घटनास्थलमा राहत पुर्याउने तयारी गरेको छ । प्रदेश सरकारले पिडितहरुलाई थप राहात र पुनस्र्थापनाको सहयोगका लागि नेपाल सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थाहरुलाई आग्रह गरेको छ । कालिकोट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४