विराटनगर- प्रदेश १ को सबैभन्दा ठूलो र एक्लो हब एयरपोर्ट विराटनगर विमानस्थल बनेको ५० वर्ष भए पनि अझै ह्यांगर बनेको छैन ।
धावनमार्ग र टर्मिनलभन्दा पर जहाज मर्मतसम्भारदेखि लामो समयसम्म विमानस्थललाई सहज बनाउन ह्यांगर आवश्यक पर्ने जानकारहरु बताउँछन् । धातु, काठ वा कंक्रिटबाट छानोसहित विमानलाई राख्न बनाइने ह्यांगर विराटनगरमा बनेको छैन ।
२०२५ साल असार ६ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेको यो विमानस्थलमा जहाज मर्मतदेखि व्यस्थित पार्किङका लागि आवश्यक ह्यांगर बन्न सकेको छैन । विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले विमानस्थलमा ह्यांगर आवश्यक भए पनि यहाँ माग नभएको बताए । विमान कम्पनीहरुले पनि माग नगरेकाले ह्यांगरका काम अगाडि नबढेको सिटौला बताउँछन् ।
१२० बिघा क्षेत्रफल र ३० मिटर चौडाइको १५ सय मिटर लामो धामवनमार्ग भएको विराटनगर विमानस्थलको धावनमार्गको दुवै भागबाट टेक अफ र एप्रोच गर्न सकिन्छ । यो विमानस्थलबाट माउन्टेन फ्लाइट पनि पछिल्ला दुई शनिबारबाट निरन्तर भएका छन । पञ्चायतकालमै नेकोन एयरबाट यो विमानस्थलबाट भारतको पटनासम्म उडान पनि भएको थियो । यहाँ सयसिटे विमान ४ वटा सम्म पार्किङ गर्न सकिन्छ ।
विराटनगर विमानस्थलमा हवाई इन्धन डिपो, फायर सेफ्टी र अन्य आपत्कालीन सुविधासमेत छन् । भिओआर भनिने पथप्रदर्शक यन्त्र र डिएमई भनिने दुरीमापक यन्त्र पनि विराटनगर विमानस्थलमै छन् । त्रिभुवन विमानस्थलपछि हवाई सुरक्षामा राम्रो भएको भन्दै एरोड्रोम सर्टिफिकेट पाउने विराटनगर विमानस्थल नै हो । यहाँ राति पनि सहजै उडान भर्न सकिन्छ ।
यस्तो महत्त्वपूर्ण विमानस्थलमा ह्यांगर छैन । ह्यांगर नहुँदा विमानहरु बिग्रेमा वा अन्य सामान्य मर्मतमा पनि व्यवस्थित राख्ने स्थानको अभाव भएको छ । प्रदेश १ का पहाडी जिल्लामा समेत उडान गर्ने हब विमानस्थल भएकाले विराटनगरमा ह्यांगर हुनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । व्यवसायी वासुदेव बरालका अनुसार मर्मत र समयसम्म पार्किङका लागि विमानस्थलमा ह्यांगर हुनैपर्छ ।
'अन्तर्राष्ट्रिय उडानका लागि पटनासम्म विमान उडाएको अनुभव भएको विराटनगर विमानस्थलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा छ', विदेशका विमानस्थलहरुमा निजी एयरलाइन्स कम्पनीका समेत ह्यांगर भएको उदाहरण दिँदै बराल भन्छन्, 'विराटनगर विमानस्थलमा पनि ह्यांगर हुनुपर्छ । ह्यांगर हुनु व्यवस्थित विमानस्थलको एक सुविधा पनि हो ।'
जहाज मर्मत काठमाडौंमै
विराटनगर विमानस्थललाई ह्यांगर आवश्यक भइरहेको आवाज आएको अवस्थामा निजी विमान कम्पनीका प्रतिनिधि भने विराटनगरमा ह्यांगर आवश्यक नभएको बताउँछन् । यती एयरलाइन्स विराटनगर शाखा प्रमुख प्रेम कुँवरका अनुसार सबै जहाज मर्मतसम्भार काठमाडौंमै हुने भएकाले विराटनगरमा ह्यांगर नचाहिने बताए । उनले भने, 'जहाज पार्किङ गर्न पार्किङ वेमा हुन्छ । मर्मत गर्ने काम विराटनगरमा हुँदैन, काठमाडौंमै हुन्छ ।'
अन्तर्राष्ट्रिय विमानस्थलको भीड कम गर्न क्षेत्रीय विमानस्थलमा ह्यांगर
त्रिभुवन अन्तराष्र्टि«य विमानबाहिर जहाज पार्किङ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले आग्रह गरेको थियो । देशको एक्लो विमानस्थलमा मात्रै सबै सरकारी तथा निजी विमान कम्पनीले पार्किङ गर्न थालेपछि प्राधिकरणले यस्तो आग्रह गरेको थियो । त्रिभुवन विमानस्थलमा ३० वटा मात्रै आन्तरिक उडान भर्ने जहाजको पार्किङ गर्ने क्षमता भएकाले प्राधिकरणले यस्तो आग्रह गरेको थियो ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ वेमा ३ वटा वाइड बडी र ६ वटा न्यारो बडी गरेर ९ वटा मात्रै जहाज पार्किङ गर्न सकिन्छ । व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमा लोड कम गर्न क्षेत्रीय विमानस्थलमा व्यवस्थित पार्किङ र मर्मत गर्न ह्यांगर हुनैपर्ने जानकार बताउँछन् । ह्यांगर बनेपछि विमानको मर्मत समेत संघीय राजधानीबाहिर हुने वातावरण आउने र धेरै सहज हुने उनीहरुको भनाइ छ ।
'नेपालगन्जमा बाहेक सबै क्षेत्रीय विमानस्थलमा छैनन् ह्यांगर'
पोखरा र भैरहवा पनि ह्यांगर नभएको विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौला बताउँछन् । सिटौलाका अनुसार नेपालगन्जमा रहेको एक पुरानो ह्यांगरबाहेक नेपालका सबै क्षेत्रीय विमानस्थलमा ह्यांगर छैनन् ।
'ह्यांगर नभएका विमानस्थलमा विराटनगर मात्रै हैन पोखरा र भैरहवामा पनि छैनन्', सिटौलाले भने, 'पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी भएकाले ह्यांगर अब बन्छन । विराटनगरमा पनि आवश्यक भएपछि बन्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४