वीरगंज- उखूको मूल्य निर्धारणका विषयमा किसान र उधोगीबीच सहमति जुट्न नसक्दा चिनी मिलहरु सञ्चालनमा आउन सकेका छैनन् ।
पुस पहिलो साता बितिसक्दा समेत बाराको मनहर्वामा रिलायन्स सुगर मिल्स र रौतहटको गरुडामा श्री राम सुगर मिल्स संचालनमा आउन नसकेको हो ।
रिलायन्समा त्रिवेणी समूह र शिवशक्ति समूहको संयुक्त लगानी रहेको छ । श्रीराममा गोल्छा समूह र विशाल समूहको संयुक्त लगानी छ।
किसानले प्रतिक्विन्टल उखुको मूल्य ५ सय ४५ रुपैयाँ हुनुपर्ने माग छ। चिनी मिलका सञ्चालकहरू बढीमा चार सय रुपैयाँ मात्र उखूको मूल्य दिन तयार देखिन्छन् । सरकारको तर्फबाट मूल्य निर्धारणको लागी गठित समितिले कृषि मन्त्रालय तथा उद्योग मन्त्रालयमा उखु प्रतिक्विन्टल ५ सय १८ रुपैयाँ कायम गर्न सुझाव दिएको छ ।
मूल्य विवादका कारण सुदूरपश्चिमको महाकाली र बागेश्वरी सुगर मिल्स बाहेक अन्य चिनी मिल सञ्चालनमा आउन सकेको छैन । चिनी मिल सञ्चालनको लागि बारा मनहर्वास्थित रिलायन्स सुगर मिलले उखु किसानसँग शुक्रबार पहिलो चरणको वार्ता गरेको थियो । वार्तामा रिलायन्स सुगर मिलका सञ्चालक राजु गाडियाले ४ सय ९० रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य दिन तयार रहेको बताए । तर किसान सहमत हुन नसकेपछि वार्ता सफल भएन ।
उखु उत्पादन किसान सङ्घ, पर्साका अध्यक्ष असर्फी साहले उखूको उत्पादन लागत बढेको भएपनि उधोगीले न्यून मूल्यमा उखू बेच्न दबाब दिइरहेको गुनासो गरे । पर्सामा गतवर्ष ७ लाख मेट्रिक टन उखु उत्पादन भएको थियो । यसवर्ष करीब दोब्बर अर्थात् १२ लाख मेट्रिक टन उखु उत्पादन गरिएको अध्यक्ष साहले जानकारी दिएका छन् ।
उखु उत्पादन बढेपनि मिल सञ्चालन नहुँदा पर्सेली किसान मर्कामा परेका छन् । मिल संचालनमा ल्याउन ढिलो हुँदा खेतमैं उखू सुक्ने र उखूको तौल घटेर किसानलाई थप आर्थिक नोक्सानी हुने जोखिम हुन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४