जनकपुरधाम- हत्यासहित विभिन्न अपराधिक घटनाका फरार एक अभियुक्त जनकपुरबाट ११ वर्षपछि पक्राउ परेका छन्। हत्या, डाँका तथा अपहरणजस्ता अपराधिक घटनाका फरार अभियुक्त महोत्तरी बर्दिवास नगरपालिका-७ प्रेमनगर घर भएका ३६ वर्षीय मकेश्वर महतो ११ वर्षपछि पक्राउ परेका हुन्।
प्रहरीले सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष टोलीले जनकपुरधाम-१४ पिडाडी चोकबाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए।
महतोविरुद्ध धनुषा तथा महोत्तरीको विभिन्न स्थान गरी चार कर्तव्य ज्यान, डाँका र अपहरणसम्बन्धी मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। यसका साथै २०६८ पौष २ गते महोत्तरीको एक अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले महतोलाई ९ वर्ष कैद र १ लाख ५ हजार जरीवानाको सजायसमेत सुनाएको छ।
फरार रहेका महतोलाई प्रहरीले लामो समयदेखि खोज्दै आइरहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४