मंगलबार, साउन १२, २०८३

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो मैथिली सम्मेलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- दश बुँदे घोषणापत्र जारी गर्दै जनकपुरमा जारी दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आइतबार सम्पन्न भएको छ। सम्मेलनले प्रदेश १ र २ मा कामकाजी भाषा मैथिली बनाउन माग गरिएको छ।

दुबै प्रदेशमा प्रदेश स्तर र स्थानीय तहको सरकारी, अर्धसरकारी तथा गैर सरकारी कार्यालयहरुमा मैथिलीलाई कामकाजी भाषा घोषणा गर्नुपर्ने घोषणापत्रमा भनिएको छ।

दुई दिनसम्म चलेको सम्मेलनमा अभिव्यक्त भएका विचार, कार्यपत्र र सहभागीहरुको अभिमतको आधारमा प्रदेश १ र २ को कामकाजी भाषा मैथिली हुनुपर्ने सम्मेलनले निष्कर्ष निकालेको छ। नेपालमा नेपालीपछि मैथिली सबैभन्दा बढी बोलिने दोस्रो भाषा रहेको छ।

यसैगरी नेपालका विद्यालयहरुको पाठ्यक्रममा प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म सय पूर्णाङ्कको एउटा पत्र मातृभाषामा अनिवार्य राखिनुपर्ने सम्मेलनले माग गरेको छ।

घोषणापत्रमा प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अनिवार्य रुपले मातृभाषाको माध्यमबाट शिक्षण र विद्यार्थी मूल्याङ्कन गरिनुपर्ने, मैथिली भाषामा पत्रकारिता गर्नेहरुका लागि वृत्ति विकासको व्यवस्थाका साथै छापा र विद्युतीय सञ्चारमाध्यमहरुलाई राजकीय संरक्षण दिनुपर्ने उल्लेख छ। यसैगरी प्रदेश १ र  २ लाई मुख्य कार्यक्षेत्र बनाउँदै मुलकभरका मैथिली भाषाको संरक्षण र सम्वद्र्धनका लागि मैथिली एकेडमी स्थापना गर्न सम्मेलनले सुझाव दिएको छ।

लोकसेवा आयोगदेखि अन्य आयोगहरुको परीक्षाको माध्यममा मैथिली भाषालाई मान्यता दिन, यस क्षेत्रको पर्यटकीय विकासका लागि मिथिला पर्यटन सर्किटको निर्माण, प्रदेशस्तरमा शोध केन्द्रको स्थापना र मैथिली शोधवृत्तिको व्यवस्था गर्न सम्मेलनले सरोकारबलासँग माग गरेको छ।

नेपालको संविधान २०७२ मा व्यवस्था भएअनुसार भाषा आयोगलाई पूर्णता दिँदै मैथिली भाषाका विज्ञलाई समानुपातिक प्रतिधिनित्व गराउनुका साथै संविधानमा एउटा अनुसूची कायम गरेर नेपालका समृद्ध भाषाहरुलाई सूचीकृत गर्न सम्मेलनले सरकारलाई सुझाव दिएको छ।

शनिबार र आइतबार गरी दुई दिनसम्म जनकपुरमा चलेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा नेपाल तथा भारतबाट करिब दुई सयको संख्यामा मैथिली अभियानीहरुको सहभागिता रहेको थियो । प्रदेश २ मा भाषासम्बन्धी विवाद चलिहरेको बेला जनकपुरमा आयोजना गरिएको सम्मेलनले मैथिलीलगायत अन्य मातृभाषाहरुलाई सम्मान दिलाउन सफल भएको सहभागीहरुले विश्वास व्यक्त गरेका छन्।

सम्मेलनमा जनकपुरस्थित मिथिला नाट्यकला परिषद्मार्फत मैथिली नाटकलाई संस्थागत गर्न सहयोग गरेका स्वर्गीय योगेन्द्र साह नेपालीलाई मरनोपरान्त मिथिला रत्न पुरस्कारले सम्मानित गरिएको छ। यसैगरी नेपालका चर्चित गायक विराटनगरका रमा मण्डल र भारत मधुबनीका संस्कृत भाषाका विद्धान डा. जयनारायण यादव पनि मिथिला रत्न पुरस्कारबाट सम्मानित भएका छन्। 

सम्मेलनमा भोजपरी साहित्यमा कलम चलाउँदै आएका गोपाल अस्कलाई मिथलाश्री र भारत मुम्बईका दिपक झालाई अन्तर्राष्ट्रिय सदभाव सम्मान प्रदान गरिएको छ।

नेपाल र भारतका मैथिली अभियानी सहभागी रहेको १६ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सफलतापूर्वक सम्पन्न भएको सम्मेलनका संयोजक वरिष्ठ साहित्यकार रामभरोस कापडिले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।