बुधबार, भदौ २५, २०८२

'स्वाइन फिभर'को जोखिम बढेपछि किसानले पाल्नै छाडे बंगुर

 |  मंगलबार, साउन ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

vianetvianet

कैलाली- बंगुरमा देखापरेको स्वाइन फिभरका कारण कैलालीका किसानले बंगुरपालन छाडेका छन्। व्यावसायिक रूपमा बंगुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बंगुरपालन गर्न आँट गरेका छैनन्। साना व्यवसायीले समेत बंगुरपालन गर्न छाडेका छन्। 

Kumaribank

करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बंगुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ। स्थानीयस्तरमा किसान र समूहमा समेत बंगुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ।

बंगुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बंगुरको मासु अभाव हुन थालेका छ। एक वर्षअघि प्रतिकिलो तीन सय ५० मा पाइने मासु यतिखेर पाँच सय रुपैयाँ पर्न थालेको छ।

'दुई वर्षअघि दुई सय ५० प्रतिकेजीमा बिक्री हुने मासु हाल पाँच सयमा बिक्री भइरहेको छ', मासु बिक्रेता राजकिरण चौधरीले भने, 'कैलालीमा बंगुर नपाएपछि  दाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट खरिद गरेर ल्याउछौँ।'
 
जिल्लाभन्दा बाहिरबाट बंगुर ल्याउँदा मूल्य बढेको चौधरीले बताए। 'पहिले मेरो बंगुर छ, काटिदिनुपर्यो भनेर किसान आउँथे, हामी मूल्य गथ्र्याैँ, अहिले बंगुर मालिकले मूल्य तोक्ने गरेका छन् तैपनि पाइँदैन', उनले भने, 'बाहिरबाट ल्याउँदा महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ भने पहिलेजस्तो नाफा पनि छैन।'

कैलालीको भजनीका जयबहादुर बुढाको करिब दुई वर्षअघि अफ्रिकन स्वाइन फिभरले फार्ममा रहेका चार सय ८२ बंगुर मरेपछि पुनः व्यवसाय सुरु गर्ने आँट गरेका छैनन्। भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार बुढाको मात्र ९५ लाख २० हजार बराबरको क्षति भएको हो।

Metro Mart

'बंगुरपालनबाट लाखौँ रुपैयाँ क्षति भयो', उनले भने, 'रोग नलागेको भए राम्रै नाफा थियो, एकाएक बंगुर मरेपछि थाहा भयो स्वाइन फिभर भन्ने  रोग लागेको रहेछ।'

हामीले थाहा नपाएको रोग बेहोर्नुपरेपछि धेरै व्यवसायीको बंगुरपालन चौपट भएको बुढाले बताए। उनले साना व्यवसायीले समेत बंगुरपाल्नुस् भनेपछि नाईनाई भन्ने गरेको बताए। फस्टाएको व्यवसाय धरासायी भएपछि यसका बारेमा सरकारले ठोस योजना नबनाएको बुढाले दु:खेसो गरे।
 
व्यवसायी बुढालाई केही राहत होला भनेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द धनगढीले दुई लाख ७५ हजार बराबरका बंगुरका पाठा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ। अर्का व्यवसायी जानकी-१ दुर्गाैलीका निकेत चौधरीले पनि पुनः व्यवसाय गर्ने आँट गरेका छैनन्। 

३५ लाख खर्च गरेर बंगुरपालन गरेका चौधरीले चार वर्षदेखि व्यवसाय गर्दै आएका थिए। उनी पनि स्वाइन फिभरको मारमा परेको बताए। चौधरीको ७० वटा बंगुर अटाउने व्यवस्थित खोर यतिखेर त्यत्तिकै खाली छ। बैंकको ऋण लिएर व्यवसाय गरेका चौधरीले ब्याजसमेत बुझाउन नसकेर बैंककै झमेलामा परेको बताए।
 
'स्वाइन फिभरको सङ्क्रमणबाट ४५ वटा बंगुर मरे', चौधरीले भने, 'ऋण लिएर बंगुर हाल्नुपर्ने हो, फेरि रोग आएपछि डुबिन्छ भन्ने त्रास घरपरिवारमा भएपछि बंगुरपालनलाई निरन्तरता दिने आँट गरेको छैन', व्यवसायी चौधरीले जग्गा खरिद, बंगुर खोर र माछापालन गरी दुई करोड लगानी गरेको बताउँछन्।
 
'रोगले बंगुरपालक किसानका खोर नै खाली गरेपछि किसानले यो पेसा नै छाडेको अवस्था छ', रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका पशु प्राविधिक पुष्पराज भारतीले भने, 'किसानले जोखिम मोल्न नसकेर यो व्यवसाय नियमित गर्न सकेका छैनन्।'

आयोजनाले बंगुरपालकलाई फार्म सुधार र ग्रामीणस्तरमा जीविकोपार्जनमा सघाउन समूहमार्फत पनि बंगुरपालनमा लगानी गरेको पनि भारतीले बताए।

कैलाली मासुमा आत्मनिर्भर जिल्लाका रूपमा चिनिन्छ। कैलालीबाट खसीबोका, राँगा र बंगुर काठमाडौँसम्म निर्यात गरिन्थ्यो। अहिले बंगुरको निर्यात रोकिएको व्यवसायीको भनाइ छ।

सिँचाइ आयोजनाले टीकापुरका किसानलाई मासु भण्डारण र निर्यातमा सघाएको छ। हाल बंगुरको मासु अभाव भएकाले उनले कञ्चनपुर, बर्दियालगायत छिमेकी जिल्लाबाट बंगुर ल्याएर मासु काठमाडौँ पठाउने गरेका छन्।  

बंगुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो। यसरी बंगुर मरेका कैलालीका किसानले राहत भने पाउन नसकेको गुनासो गर्ने गरेका छन्। रासस

प्रकाशित: Jul 23, 2024| 06:01 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्