जनकपुरधाम- जनकपुर चुरोट कारखानामा कार्यरत रामविलास यादवको हत्या भएको १२ वर्षभन्दा बढी भइसक्यो। हत्या भएको यतिका समय बितिसकेपनि अपराधीहरु कानुनी दायरमा आउन सकेका छैनन्।
बाबुको हत्यारालाई कारबाहीको दायरामा ल्याउन श्रीमती जिवछी देवी यादव र छोरा विजय यादवले थोरैपनि कसर बाँकी राखेनन् । प्रहरीदेखि न्यायालयसम्म पुगे, उनीहरु। तर न्याय पाउन सकेका छैनन्।
रामविलास जनकपुर चुरोट कारखानको प्राविधिक शाखामा काम गर्दथे। कहिले उनको ड्युटी बिहान पर्दथ्यो भने कहिले साँझ । बिहान काम गर्ने पालो परेको बेला अरान्ह ३ बजेसम्म काम गरेर उनी आफ्नो गाउँ तत्कालीन मानसिंहपट्टी फर्किन्थे। तर, साँझको सिफ्टमा काम गर्ने पालो परेपछि ११ बजेसम्म काम गरेर कारखानाकै क्यान्टिनमा सत्दथे। र, बिहानै घर फर्किन्थे।
२०६३ जेठ ८ गते रामविलासलाई साँझको ड्युटी परेको थियो। बिहान सधैँझैँ काम सकाएर उनी कारखानको क्यान्टिनमा सुतेका थिए। तर उनीसँगै कामगर्ने तीनजना साथीले राती नै घर हिँड्न जिद्दी गरे।
उनीसहित चारजना भएपछि बाटोमा केहि नहुने भन्दै रामविलास साथीहरु तत्कालीन कनकपट्टी गाविस बस्ने शिवजी साह, रामजी पंजीयार र फेकन साहसँग साइकल चढेर घरतर्फ लागे। तर रामविलासको बाटोमै हत्या भयो। उनको कनचटमा छुरा प्रहार भएको थियो भने पेटमा गोलीको छर्रा लागेको थियो।
रातीको ड्युटी सकाएर घर नफर्केपछि परिवारका सदस्यहरु चिन्तामा परे। र, रामविलासको खोजी गर्न निस्किएका परिवारका सदस्यहरुले जनकपुरस्थित पुल्चोकभन्दा पूर्ववरको रुखमुनी उनको शव फेला पारे।
श्रीमती जिवछी र छोरा विजय रामविलासलका हत्यारालाई सजाय दिलाउन भौतारी रहेका छन्। कारखानाबाट सँगै आएका तीनजना साथी शिवजी, रामजी र फेकनले मिलेर आफ्नो बाबु रामविलासको हत्या गरेको छोरा विजयको दाबी छ। त्यतिखेर आफूले विदेशबाट पठाएको ५० हजार रुपैयाँका लागि उनीहरुले आफ्नो बाबुको हत्या गरेको हुन सक्ने उनको आरोप छ । बाबुसँगै रहेको रुपैयाँ उनको हत्यापछि त्यहाँ फेला नपरेको विजयको भनाइ छ।
घटनाको यतिका दिन भइसक्दासमेत आरोपीहरु कानुनी दायरामा आउन नसकेको भन्दै श्रीमती जिवछी र छोरा विजय भक्कानिन्छन्। अपराधीहरुलाई जसरीपनि कानुन दायरामा ल्याएर कारबाही गर्न दुबैजनाले प्रहरीलाई गुहार लगाएका छन्।
‘मेरो बाबुको हत्या भएको १२ वर्ष बितिसक्यो,’ शनिबार पत्रकार सम्मेलन गरेर विजयले भने,‘प्रहरी र अदालतमा गुहार लगाइ सकेका छौं, अब कता जाने ।’ आफूहरु अन्यायमा परेकोले दोषी जसरी पनि कारबाहीको दायरामा आउनु पर्ने उनले बताए।
हत्या भएको ६ दिनपछि २०६३ जेठ १४ गते रामविलासका भाइ रामचन्द्र यादवले जिल्ला प्रहरी कार्यालय धनुषामा शिवजी, रामजी र फेकनविरुद्ध किटानी जाहेरी नै दर्ता गराए । किटानी जाहेरी दर्ता भएलगत्तै आरोपी तीनैजना फरार भए । आरोपीहरुलाई पक्राउ गरेर कारबाही गर्न पटकपटक आग्रह गरेपनि विगतका एसपीहरुले अनुसन्धान भइरहेको भन्दै टार्ने गरेको विजय सुनाउँछन्। तर अहिलेका एसपी गोविन्द थपलियाले पुनः फाइल खोलेर कारबाही अगाडी बढाएपछि केहि खुशी भएका छन्, पीडित परिवार।
बितेको मंसिर ४ गते शिवजीलाई प्रहरीले घरबाटै पक्राउ गर्यो। तर अदालतले ३ पौषमा शिवजीलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश सुनायो। जिल्ला अदालत धनुषाका न्यायधीश ऋषिराम निरौलाको इजलासले शिवजीलाई धरौटीमा रिहा गर्न दिएको आदेशबाट रामविलासकी श्रीमती जिवछी र छोरा विजयको चित्त बुझेको छैन्। र, उनीहरु पुनरावेदन गर्ने तयारीमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४